काठमाण्डु, २९ असार– नेकपा माओवादी केन्द्रले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग गरेको छ ।
प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी सांसद रेखा शर्माले एमालेको अर्थ विभागमा रहेका अधिकारीमाथि छानबिन हुनुपर्ने माग गरेकी हुन् । एमालेले हालै जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी) मा नेता घनश्याम भुसाल प्रमुख रहेको अर्थ विभागमा अधिकारीको नाम छ । तर, एमालेले उनको नाम महाप्रसाद नराखी छोटकरीमा एम अधिकारी खोटाङ लेखेको छ ।
यसअघि पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे संयोजक रहेका बेला भने महाप्रसाद अधिकारी, खोटाङका नाममा उनी एमाले अर्थ विभाग सदस्य थिए ।
सांसद शर्मले राष्ट्रबैंक एने विपरीत अधिकारी पार्टीको अर्थ विभागमा रहेको भन्दै तत्काल छानबिन गरी कारबाही हुनुपर्ने माग गरिन् ।