एसएसीले नेतृत्व गर्दै आएका तीन स्थानमा डिआईजी खटाइयो

काठमाण्डु टुडे २०७९ असार २० गते ७:५४ मा प्रकाशित

काठमाण्डु, २० असार– गृह मन्त्रालयले नवनियुक्त तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदस्थापन लगत्तै काज सरुवा गरेको छ ।

गृहमन्त्रीस्तरीय निर्णयबाट अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, ट्राफिक प्रहरी कार्यालय रामशाहपथ र प्रहरी शिक्षालय भरतपुरमा डिआईजी खटाइएको छ ।

यसअघि ती तीनै स्थानमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले नेतृत्व गर्दै आएका थिए । केन्द्रीय साइबर व्युरोमा पदस्थापन गरिएका डीआईजी श्यामलाल ज्ञवालीलाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रमुखको जिम्मेवारीमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तै सन्दीप भण्डारीलाई प्रहरी शिक्षालय भरतपुर र मिरा चौधरीलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको प्रमुखको जिम्मेवारी दिइएको छ ।

डीआईजीको दरबन्दी रहेको केन्द्रीय साइबर व्युरोको नेतृत्व हालका लागि प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्याललाई दिइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us