एसपीपीमा फस्ने भएपछि केपी ओलीले गुहारे अमेरिकी दूतावास

काठमाण्डु टुडे २०७९ असार १४ गते १८:१८ मा प्रकाशित

काठमाण्डु, १४ असार–एमाले अध्यक्ष केपी ओलीले अमेरिकी सहायतासम्बन्धी मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) प्रकरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोहोरो भूमिका खेलेको आरोप लगाएका छन् ।

तत्मालीन एमाले महासचिव मदन भण्डारीको ७१औं जन्मजयन्तीका अवसरमा मंगलबार आयोजित कार्यक्रममा ओलीले एमसीसीको सुरुआत प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्ड मिलेर गरेको आरोप लगाए ।

वर्तमान सत्ता गठबन्धनले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अनुमोदनको अन्तिम तयारी गरेका बेला जनताको चर्को दबाबबका कारण पछि हटेको दाबी उनले गरे । एसपीपी सम्झौताका प्रावधान खतरनाक रहेको भन्दै उनले राष्ट्रियताको मजाक उडाउने काम भएको टिप्पणी गरे । ‘राष्ट्रियताको सवाललाई मान्छेहरुले निकै सस्तो बनाएका छन्’, उनले भने, ‘यो नयाँ ड्राफ्ट हो, यो घातक छ । यस्तो ड्राफ्ट पहिला कहिल्यै आएको थिएन ।’ उनले आफ्नो पालामा एसपीपी नआएको पनि दाबी गरे ।

जब कि ओली प्रधानमन्त्री भएकै बेला तत्कालीन प्रधानसेनापछि राजेन्द्र क्षेत्रले सरकारको अनुमतिमा एसपीसी सम्झौताका लागि अमेरिकालाई सन् २०१९ मा लेखेको पत्र सार्वजनिक भएको छ । नेपाली सेनाले उक्त पत्र आधिकारिक अभिलेखमा रहेको स्वीकार गरेको छ । ओली पहिलोपटक २०७२ असोज २५ मा प्रधानमन्त्री बनेका थिए । तत्कालीन प्रधानसेनापति क्षेत्रीले त्यसको १५ दिनपछि १० कात्तिकमा एसपीपीमा नेपाललाई सहभागी गराउन आग्रह गर्दै नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेका थिए ।

‘केपी ओलीको पालामा एसपीपी ल्याएको थियो भनेर एक जनाले पटकपटक भनिरहेका छन्’, प्रचण्डको नाम उच्चारण नगरी ओलीले भने, ‘अन्तर्राष्ट्रियस्तरमा पनि ढाँटिरहेका छन् ।’ ओलीले आफू पहिलोपटक प्रधानमन्त्री हुनुभन्दा पहिल्यै एसपीपीको पत्र पठाइएको बताए । एसपीपी सम्झौतासम्बन्धी नेपाली सेनाले सार्वजनिक गरेको पत्रमा मिति संशोधन गरिएको दाबी उनले गरे । ओलीले सार्वजनिक भएको पत्रको आधिकारिकताबारे बोल्न अमेरिकी दूतावासलाई आग्रह गरे । सरकारलाई पनि उक्त पत्रको सक्कल सार्वजनिक गर्न उनले भने ।

‘म प्रधानमन्त्री हुनु भन्दा अगाडिको हुनसक्छ । चलानी नम्बरमा ८५ पनि हातले लेखेको छ । पहिलेको हटाएर, पठाएको मितिमा पनि २७ अक्टोबर लेखेको छ हातले । सबै टाइप छ । पछाडि किन हातले लेख्नुपर्यो भने टिपेक्स लगाएर मेटेर हातले लेखिएको स्पष्ट छ । हातले नलेखेको पत्र निकाल्न म सरकारलाई भन्न चाहन्छु, हातले नलेखेकामा कहिलेको मितिमा थियो, त्यो ल्याऊ ।’

ओलीले एसपीपीमा आफूलाई मुछ्नका लागि मिति केरमेट गरी पत्र सार्वजनिक गरिएको दाबी गरे । ‘यो पत्र म प्रधानमन्त्री नहुँदै अमेरिकन एम्बेसीमा पठाइएको हो’, ओलीले भने, ‘अमेरिकन एम्बेसीले सत्य बोलोस् भन्न चाहन्छु ।’

ओलीले आफ्नै पालमा लेखिएको पत्र रहेछ भने पनि आफ्नो जानकारी बिना पठाइएको हुन सक्ने बताए । सरकारलाई जानकारी गराएको भए आफूले रोक्ने उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us