काठमाण्डुमा भारी वर्षाः नदी किनारमा यात्रा गर्दा सतर्क रहन आग्रह

काठमाण्डु टुडे २०७९ असार १० गते ७:४२ मा प्रकाशित

काठमाण्डु, १० असार– जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले भारी वर्षातका कारण पानीको सतह बढेको भन्दै काठमाण्डु उपत्यकाका नदी किनार भएर यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत त्यस्तो आग्रह गरेको हो । विभागका अनुसार काठमाण्डु उपत्यकामा हाल भारी वर्षा भइरहेको छ ।

वर्षातका कारण उपत्यकाका हनुमन्ते, मनोहरा, बागमती र सहायक नदीहरुमा जलसतह बढ्दो अवस्थामा हरेको महाशाखाको भनाइ छ । ‘काठमाण्डु उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएको छ ।

हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो छ, नदी किनारको बाटो भई यात्रा गर्दा अर्को ३ घण्टा उच्च सतर्कता अपनाऔं’, महाशाखाले भनेको छ ।

शुक्रबार प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us