
काठमाण्डु, ९ असार– आफ्ना बाबुले गरेको निर्णयमा असहमति जनाउँदै मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुका छोरा ज्योती गच्छदार थारुले सरकारी गाडी तोडफोड गरिदिएका छन् ।
ज्योतीले गाउँपालिकाको प्रदेश १–को १ झ ५७८ नम्बरको गाडी मंगलबार साँझ तोडफोड गरिदिएका हुन् । गाउँपालिका परिषरमै राखिएको बेला गाडी तोडफोड गरिएको हो। ढुंगाले प्रहार गरेर पछाडिको शिशा फुटाइएको छ । गाडी गाउँपालिका अध्यक्ष जयप्रकाशले नै प्रयोग गर्दै आएका थिए । गाउँपालिकाको बजेट निर्माणलगायतका विषयमा मंगलबार दिनभर छलफल भएको थियो ।
विभिन्न समिति निर्माणको विषयलाई पनि छलफलको एजेन्डा बनाइयो । तर कांग्रेसबाट बहुमतसहित अध्यक्षमा निर्वाचित जयप्रकाशले एमालेबाट निर्वाचित वडाअध्यक्षहरुलाई कार्यपालिकाभित्रका विभिन्न समितिमा जिम्मेवारी नदिएको विषयमा विवाद भयो । अन्ततः एमालेका वडाध्यक्षलाई पनि केही समितिको जिम्मेवारी दिन जयप्रकाश तयार भए ।
तर, उनका छोरा ज्योती भने एमालेलाई पेलेर जानुपर्छ भन्ने पक्षमा थिए । एमालेबाट निर्वाचित भएकालाई जिम्मेवारी दिन नहुने माग राख्दै आएका ज्योतीले निर्णयप्रति असहमति जनाउँदै आफ्ना बाबुले चढ्दै आएको सरकारी गाडी तोडफोड गरिदिएको एक जनप्रतिनिधिले बताए । अन्नपूर्ण पोस्टबाट