फस्न सक्छन् दुर्गा प्रसाईं, सुनको लौरोबारे अनुसन्धान सुरु

काठमाण्डु टुडे २०७९ असार ५ गते ७:३० मा प्रकाशित

काठमाण्डु, ५ असार– संयुक्त अरब इमिरेट्स (यूएई) का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपहार दिएको ‘सुनको लौरो बारेको रहस्यको खोजी हुँदैछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले राजकुमार जुमाले सुनको लौरो ल्याएकोबारे भन्सार कार्यालय अनभिज्ञ रहेको बताए ।

उनले भने, ‘उहाँ बिहान त्रिवि विमानस्थल हुँदै झापा पुग्नुभएको र सुनको लौरो उपहार दिनुभएको भन्ने सुनियो । तर, सुनको लौरो ल्याएकोबारे भन्सारलाई जानकारी गराउनुभएको छैन ।’

भीभीआईपीले विमानस्थल प्रयोग गर्दा विशिष्ट कक्ष प्रयोग गर्न पाउने सुविधा रहे पनि मापदण्डविपरीतका वस्तु ओसारपसार गर्न नपाउने उनले बताए ।

भीभीआईपी आफैं जिम्मेवार व्यक्ति हुने भएकाले चेकजाँचमा सामान्य यात्रुसरह कडाइ नहुनेसमेत भट्टराईले जानकारी दिए । लौरो कुन माध्यमबाट झापा पुग्यो भन्नेबारे विमानस्थलस्थित भन्सार कार्यालय अनभिज्ञ छ ।

यस विषयमा भन्सार विभागले आन्तरिक रूपमा अनुसन्धान सुरु गरेको जनाएको छ । गोरखापत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us