नेपाललाई विकसित राष्ट्र बनाउने गणतन्त्रको कार्यभारः राष्ट्रपति

काठमाण्डु टुडे २०७९ जेठ १५ गते ७:३६ मा प्रकाशित

काठमाण्डु, १५ जेठ– राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित गरोस भन्ने शुभकामना दिएकी छन् ।

१५औँ गणतन्त्र दिवसका अवसरमा आइतबार जारी सन्देशमा उनले जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याई नेपाललाई सबल र आत्मनिर्भर अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु गणतन्त्रको वास्तविक कार्यभार भएको बताएकी छन् ।

सन्देशमा उनले वंश परम्परामा आधारित शासन व्यवस्थालाई जनतामा निहित सार्वभौम सत्ताको प्रयोगमार्फत जनताले नै छानेका प्रतिनिधिबाट सञ्चालन हुने प्रणालीमा रूपान्तरण गर्नु गणतन्त्रको मुलभूत विशेषता रहेको बताइन् ।

नेपालको संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेका शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, खानेपानी, सरसफाइ, वातावरण संरक्षणलगायत आधारभूत अधिकारलाई व्यवहारिकरूपमा कार्यान्वयन गर्दै समाजवादोन्मुख आर्थिक प्रणाली निर्माण गर्न गणतन्त्र दिवसले हामी सबैलाई थप उत्साह प्रदान गर्ने विश्स उनले लिएकी छन् ।

मुलुकमा राजनीतिक परिवर्तनका लागि विभिन्न समयमा भएका आन्दोलनको अगुवाइ गर्ने राजनीतिक दलका अग्रज नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी जनसमुदाय, नागरिक समाज एवं राजनीतिक कार्यकर्ताहरूको योगदानको उच्च प्रशंसासमेत राष्ट्रपति भण्डारीले व्यक्त गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्ने शहीदहरूप्रति उनले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us