आज गणतन्त्र दिवस

काठमाण्डु टुडे २०७९ जेठ १५ गते ७:२५ मा प्रकाशित

काठमाण्डु, १५ जेठ– आज जेठ १५ गते, अर्थात गणतन्त्र दिवस । सरकारले विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाउँदै छ । दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

पहिलो संविधानसभाले २०६५ जेठ १५ गते २ सय ४० वर्ष पुरानो वंशपराम्पारमा आधारित शाही निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

राजतन्त्रविरुद्ध सशस्त्र जनयुद्ध गरेको माओवादी र शाही राजतन्त्रका अन्तिम राजा ज्ञानेन्द्र शाहले २०६१ माघ १९ गते सम्पूर्ण शासनसत्ता आफ्नै हातमा लिएपछि उनको निरंकुशताविरुद्ध संघर्षमा उत्रिएका तत्कालीन सात राजनीतिक दलबीच ०६२ मंसिरमा भएको १२ बुँदे समझदारी राजतन्त्र अन्त्यको प्रस्थान बिन्दु थियो ।

१२ बुँदेपछि राजतन्त्रविरुद्ध लाखौं जनता सडकमा आए । आन्दोलन चर्कंदै गएपछि ज्ञानेन्द्र शाहले ०६३ वैशाख ११ गते संसद पुनस्र्थापना गर्दै आफ्नो कदम फिर्ता लिए । पुनस्र्थापित प्रतिनिधिसभाले ०६३ जेठ ४ मा राजाको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गरेको थियो । सोही बैठकले माओवादीसँग शान्ति सम्झौता गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो । त्यसलाई नेपाली राजनीतिको ‘म्याग्नाकार्टा’ भन्ने गरिएको छ ।

त्यसपछि माओवादी अन्तरिम संसद र अन्तरिम सरकारमा सामेल भयो । ५ मंसिर ०६३ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । ०६४ चैत २८ मा संविधानसभाको पहिलो बैठक बस्यो । सोही बैठकले विधिवत राजतन्त्र अन्त्य र गणतन्त्र स्थापनाको घोषणा गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us