
काठमाण्डु, १३ माघ– सरकारले नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा रेस्टुरेन्ट निर्माणसम्बन्धी विवादको थप छानबिन तथा आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरी प्रधान कार्यालयलाई पत्रचार गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले व्यापार व्यवसाय प्रयोजनका लागि सङ्ग्रहालयको जग्गा तथा बगैँचा अतिक्रमण गरी संरचना बनाउने र त्यस कार्यमा सहयोग पुर्याउने सम्बद्ध अधिकारीलाई कानुनी कारबाहीका लागि आयोग र प्रहरीलाई पत्राचार गरेको हो ।
मन्त्रालयको संस्कृति महाशाखा प्रमुख सहसचिव होमप्रसाद लुइँटेलले नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा रेस्टुरेन्ट निर्माणसम्बन्धी विवादको थप छानबिनका लागि अख्तियार र प्रहरीलाई आग्रह गरिएको स्पष्ट पारे । उनी छानबिन समितिको संयोजकसमेत थिए । उनी नेतृत्वको छानबिन समितिले ६.३४ आना जग्गामा (क्याफ्टेरिया) क्यान्टिन/कफी सप सञ्चालन गर्ने नाममा दरबारको बगैँचासहित १४ रोपनी जग्गा अतिक्रमण गरी बतास समूहले संरचना निर्माण गरेको यथार्थ विवरण बाहिर ल्याइदिएको हो ।