
काठमाणडु, ६ माघ– वरिष्ठताका आधारमा आफू अगाडि भए पनि पदावधि थपको सिफारिसमा नपरेको भन्दै नेपाली सेनाका उपरथी अनन्त कार्कीले असन्तुष्टि जाहेर गर्दै प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध उजुरी दिएका छन् ।
‘चेन अफ कमान्ड’मा रहने फौजी संगठनमा संगठन प्रमुखविरुद्ध राजनीतिक नेतृत्वलाई गुहार्ने घटना कमै हुने भए पनि मुलुकको राष्ट्रिय सेना नेपाली सेनाकै नेतृत्वविरुद्ध यस्तो उजुरी परेको हो ।
उपरथीको पहिलो नम्बरमा रहेका कार्कीले प्रधानसेनापति शर्माविरुद्ध रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै उजुरी दिएका हुन् ।
बढुवा र पदावधि थपका विषयमा सैनिक अधिकारीले प्रायः रक्षा मन्त्रालयमा उजुरी दिने गरेको भए पनि उपरथी कार्कीले प्रधानमन्त्रीको सचिवालयमा उजुरी दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।