
काठमाण्डु, १ पुष– नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले पार्टी भित्रको बेतिथि हटाउन आफ्नो महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन् । महामन्त्रीमा विजयी भएपछि पार्टी कार्यालय सानेपामा संक्षिप्त सम्बोधन गर्दै उनले महाधिवेशन व्यवस्थित तरिकाले भए पनि पार्टी सञ्चालनमा बेतिथि रहेको बताए ।
उनले पार्टीलाई विधि र विधानसम्मत सञ्चालन गर्नका लागि आफूले भूमिका खेल्ने बताए । उनले पार्टीमा विधि र विधानबाट नचली व्यक्तिको वर्चस्व कायम गर्ने परम्परा रहेको भन्दै त्यसलाई भत्काइने बताए । उनले कांग्रेस सबैभन्दा व्यवस्थित पार्टी भए पनि आन्तरिक लोकतन्त्रका विषयमा प्रश्न उठ्ने गरेको भन्दै अब प्रश्न नउठ्ने गरी काम गर्ने प्रतिवद्धता जनाए ।