गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

रासस २०७८ मंसिर २३ गते १३:३३ मा प्रकाशित

नवलपरासी, २३ मंसिर–  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा गैँडाको आक्रमणबाट कावासोती–१५ शेरगञ्जका ६५ वर्षीय रेशमलाल महतको मृत्यु भएको छ ।

आफ्नै घर नजिकको चउरमा बसिरहेका अवस्थामा  उनलाई मध्यवर्ती क्षेत्रबाट आएको गैँडाले एक्कासी आक्रमण गरेको थियो । मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका क्रममा बुधबार राति महतको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए ।  जिल्लामा निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट निस्कने गैँडाको आक्रमणबाट बर्सेनि स्थानीयवासीले ज्यान गुमाउने गरेका छन् ।

पछिल्लो राष्ट्रिय गैँडा गणना २०७७ अनुसार नेपालमा ७५२ गैँडा छन् भने चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ गैँडा भेटिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us