समीरविरुद्ध मुद्धा हाल्दै शाहरुख खान

काठमाण्डु टुडे २०७८ मंसिर ६ गते १३:०२ मा प्रकाशित

काठमाण्डु, ६ मंसिर– अभिनेता शाहरुख खानले नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसीबी)का उच्च अधिकारी समीर वानखण्डेविरुद्ध मुद्धा हाल्ने तयारी गरेका छन् ।

मुम्बईबाट गोवा जाँदै गरेको पानीजहाजमा रेव पार्टी गरिरहँदा शाहरुखका छोरा आर्यनसहित ८ जनालाई गत अक्टोबर ३ मा एनसीबीको टोलीले छापा मारेर पक्राउ गरेको थियो ।

एनसीबीले आर्यनसहित उनका साथी अरबाज मर्चेन्ट र मुनमुन धामेचाले लागुऔषध प्रयोग गरेको दाबी गर्दै अदालतमा मुद्धा दर्ता गराएको थियो । पक्राउ परेपछि आर्यन करिब २५ दिनसम्म मुम्बई आर्थर रोड जेलमा बसेका थिए ।

छोरा आर्यन जेलमा परेपछि शाहरुख र उनकी पत्नीको अवस्था तनावपूर्ण बनेको थियो । तर गत अक्टोबर २८ मा अदालतले आर्यनलाई जमानतमा रिहा गरेपछि उनी तारिख धाउदै थिए । छोराको विषयमा मौन रहेका शाहरुखले अब भने आफ्नो मौनता तोड्ने भएका छन् ।

सञ्चारमाध्यमका अनुसार शाहरुख आफ्नो कानूनी टिममार्फत समीरविरुद्ध अदालत जाने तयारीमा छन् । आर्यनका विषयमा गत शनिबारमात्र बम्बे उच्च अदालतले आर्यनविरुद्ध कुनै प्रमाण फेला नपरेको र ह्वाट्सएपमा पनि कुनै शंकास्पद च्याट नभेटिएको जनाएको थियो । अदालतको निर्णयले राहतको श्वास फेरेका शाहरुख आर्यनलाई पक्राउ गर्नुपर्ने कारण माग गर्दै समीरविरुद्ध अदालत जाँदैछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us