
काठमाण्डु, ३ मंसिर– सर्वोच्च अदालतमा बिहीबार वरिष्ठ अधिवक्ता सविता भण्डारी बरालले बिरलै हुने दृश्य देखिन् । प्रहरीको दमन भोगिन् । कतिपयले त युद्धमा प्रयोग गरिने एसएलआर नै बोकेका थिए । झट्ट हेर्दा ब्यारेकजस्तो देखिन्थ्यो न्यायको मन्दिर ।
न्यायालय शुद्धीकरणको अभियानअन्तर्गत धर्नारत अन्य कानुन व्यवसायीभन्दा अगाडि थिइन् बराल । त्यही बेला महिला प्रहरी आएर लछारपछार गरेको उनले सुनाइन् । ‘हातले धकेलेजस्तो देखाउने तर तलबाट बुटले हिर्काउने रहेछन्’, उनले भनिन्, ‘हातमा पनि सामान्य चोट लागेको छ ।’
प्रहरीले शान्तिपूर्ण धर्नामा हस्तक्षेप गर्दा बरालसँगै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ सामान्य घाइते भएका छन् । अध्यक्ष श्रेष्ठलाई जोगाउन खोज्दा नेपाल बारका केन्द्रीय सदस्य प्रकाश महर्जनको टाउकोमा चोट लागेको छ । उनी अस्पताल भर्ना भएका छन् । सर्वोच्च बार एसोसिएसनका सचिव ऋषिराम घिमिरे, अधिवक्ताहरू कपिलचन्द्र पोखरेल, युवराज बन्जाडे, नितेश श्रेष्ठ, रमणलाल कर्ण र उच्च अदालत बार पाटनका सदस्य गोपाल सापकोटालगायत घाइते भए ।
सर्वोच्च परिसरमा आयोजित विरोधसभा समापनपछि कानुन व्यवसायीमाथि हुलहुज्जतको प्रयास भयो । नेपाल बारको कार्यालय परिसरमा केही अपरिचित व्यक्तिले धम्क्याए । ‘कालोकोट लगाउने तिमीहरू होइनौ ? यो कालोकोट च्यातिदिन्छौं भनेर धम्क्याए । एक जना कानुन व्यवसायीलाई झम्टिन आए’, प्रत्यक्षदर्शी बरालले भनिन्, ‘हामी निशस्त्र थियौं । नजिकै रहेको ढुंगा देखाउँदै आक्रमण गरे ढुंगाले हान्छौं भनेपछि ती मान्छे भागे । प्रहरीले पक्राउ गरेर लगेको हो ।’
नेपाल बारका अध्यक्ष श्रेष्ठले कार्यालय परिसरमा कानुन व्यवसायीमाथि अशिष्ट भाषा प्रयोग गरी हुलहुज्जत भएको बताए । ‘तीन–चार जना बिचौलिया र भ्रष्टका मतियारहरू अनधिकृत रूपमा प्रवेश गरी कानुन व्यवसायीमाथि अशिष्ट भाषा प्रयोग गरी हुलहुज्जतको प्रयास गरे’, श्रेष्ठले भने । अन्नपूर्ण पोस्टबाट