
काठमाण्डु, २३ कात्तिक सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको संयुक्त इजलाससमेत बहिष्कार गरेका छन् । बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा नहेर्ने र जबरासँगै इजलासमा नबस्ने अडान न्यायाधीशहरूले दोहोर्याएका छन् ।
प्रधानन्यायाधीश र न्यायाधीशहरूको आआफ्नै अडानका कारण न्यायपालिकाको विवाद लम्बिँदै गएको छ । जबराले तत्काल राजीनामा नदिने संकेत गरेपछि विवाद लम्बिएको हो । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरू बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको सुुनुवाइमा बसेका छैनन् ।
वर्तमान गठनबन्धन सरकारमा न्यायपालिकाका तर्फबाट मन्त्री पद माग्दै भागबन्डा खोज्ने प्रधानन्यायाधीशले राजीनामा दिनुको विकल्प नभएको न्यायाधीशहरूको अडान छ । प्रधानन्यायाधीश र न्यायाधीशहरूको आआफ्नै अडानका कारण तिहारअघिदेखि नै सर्वोच्चमा सुनुवाइ प्रभावित भइरहेको छ । तिहार बिदा सकिएलगत्तै अदालत खुलेको पहिलो दिन सोमबार प्रधानन्यायाधीश जबराले आफूसहितको इजलास तोेकेका थिए ।
उनले बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रिट निवेदनमा मात्रै इजलास तोकेका थिए । उनले आफू र न्यायाधीश कुमार चुडालको संयुक्त इजलास तोकेका थिए। तर चुडालले इन्कार गरेपछि इजलास बस्न सकेन। न्यायाधीश चुडालले आफ्नो एकल इजलासमा भने मुद्दा हेरे । सोमबारका लागि जम्मा ५ वटा इजलास तोकिएका थिए । प्रधानन्यायाधीशबाहेकका चारवटा इजलासले बन्दी प्रत्यक्षीकरणका ५ वटा रिटमा सुनुवाइ गरेका थिए ।
सोमबार पनि न्यायाधीशहरूको बैठक बसेको थियो । बैठकमा प्रधानन्यायाधीशसँग एउटै इजलासमा नबस्ने अडान दोहोर्याइएको थियो । नागरिक दैनिकबाट