मुख्यमन्त्री पाण्डेलाई विवेकशील साझा पार्टीले विश्वासको मत नदिने

काठमाण्डु टुडे २०७८ कार्तिक २२ गते १५:४४ मा प्रकाशित

काठमाण्डु, २२ कात्तिक– विवेकशील साझा पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई विश्वासको मत नदिने भएको छ ।

विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलको नेता रमेश पौड्यालको अध्यक्षतामा हिजो आइतबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

‘प्रदेश सरकारले साविक मन्त्रालयहरू फुटाइ जम्बो मन्त्रिमण्डल गठन गर्ने तयारी गरिरहेकाले हाम्रो संसदीय दलको बैठकले मन्त्रालय फुटाउने कार्यको औचित्य पुष्टि हुन नसक्ने ठहर गरेको छ । भागबण्डाका निमित्त मन्त्रालय फुटाउँदा प्रदेशको प्रशासनिक संरचना नै अस्तव्यस्त हुने र प्रदेश कोषमा अनावश्यक रूपमा व्ययभार थपिने भएकाले मुख्यमन्त्री ज्यूलाई हामी विश्वासको मत दिँदैनौ’ उनले भने ।

‘हामी प्रदेशसभामा बैठक प्रारम्भ भएदेखि नै रचनात्मक प्रतिपक्षको भूमिकालाई निर्वाह गर्दै आगामी दिनमा पनि यसलाई प्रभावकारी रूपमा निरन्तरता दिनेछौँ’ उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us