लुम्बिनीको विकासलाई प्राथमिकतामा राखौं : राष्ट्रपति भण्डारी

रासस २०७८ कार्तिक १४ गते १४:३४ मा प्रकाशित

काठमाण्डु, १३ कात्तिक–  राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी विश्वको आकर्षणको केन्द्र भएकाले लुम्बिनीको विकासलाई नेपाल सरकारले मुख्य प्राथमिकतामा राख्नुपर्ने बताएकी छन् ।

आज लुम्बिनी पुगेकी राष्ट्रपति भण्डारीले बज्रयान महाविहार तथा नेपाल मण्डला स्वागतद्वारको शुभारम्भ गर्दै उनले भनिन्,’गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रको सन्देश चारैतिर फैलिएको छ, यो विश्वप्रसिद्ध स्थल हो, नेपालमा गौतमबुद्धको जन्म भएको हो, बुद्धले लामो तपस्यापछि जुन ज्ञान प्राप्त गर्नुभयो त्यसको मर्म र भावनाअनुसार चल्नसक्दा नै मानवकल्याण हुनेछ ।’

राष्ट्रपति भण्डारीले राष्ट्रिय विकास क्षेत्रीय चिन्तनबाट प्रभावित हुनुहुँदैन भन्दै लुम्बिनीजस्तो पवित्रस्थल सबैको प्राथमिकतामा रहनुपर्ने र यसको विकासमा सबैको साझा मत हुनुपर्ने धारणा पनि राखिन् ।

त्यस समारोहको मञ्चमा रहेका सांसदहरु, पूर्वमन्त्रीहरु, नगरप्रमुखहरु लगायतलाई सम्बोधन गर्दै उनले लुम्बिनी गुरुयोजना समयमै पूरा गर्न निर्देशन पनि दिइन् ।

त्यस अवसरमा राष्ट्रपति भण्डारीले काठमाडौं महानगरकाका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरुलाई सम्मान प्रदान गरेकी थिइन् ।

उनी आज बिहान ११ बजे हेलिकोप्टरमार्फत लुम्बिनी पुगेकी हुन् । उनलाई लुम्बिनीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेया, सांसदरु डा‍‍. सूर्य पाठक, खिमलाल भट्टराई लगायतले स्वागत गरेका थिए ।

बज्रयान महाविहारमा आयोजित कार्यक्रममा स्वागत गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा नरेशमान बज्राचार्यले लुम्बिनीमा नेपालको विहार नभएको हुँदा आफूहरको अग्रसरतामा बज्रायान महाविहार निर्माण गरेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us