एमाले र माओवादीलाई चटारो

काठमाण्डु टुडे २०७८ कार्तिक ३ गते ८:०८ मा प्रकाशित

काठमाण्डु, ३ कात्तिक– सत्ताबाहिर रहेको नेकपा एमाले र सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्र महाधिवेशनमा केन्द्रित हुन थालेका छन् ।

दुवै पार्टीले आगामी महाधिवेशनका लागि वडा, गाउँ, टोल, नगर र जिल्ला अधिवेशनको कार्यतालिका सार्वजनिक गरेका छन् । दसैं सकिएसँगै यी दुई पार्टीले संगठन विस्तार र महाधिवेशन केन्द्रित कार्यक्रम तय गरेका हुन् ।

एमालेले देशभरका सबै वडामा एकसाथ अधिवेशन आयोजना गर्ने सो दलका कार्यालय सचिव शेरबहादुर तामाङले बताए। यसका लागि सबै जिल्ला कमिटीका बैठक बस्ने भएका छन् ।  कात्तिक २ देखि ४ गतेसम्म जिल्ला कमिटीका बैठक बसेर ६ गते हुने वडा अधिवेशनमा जिल्लाबाट प्रतिनिधि खटाउन लागिएको छ । मंसिरमा हुने महाधिवेशनअगाडि एमालेले वडा, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशन सम्पन्न गर्दैछ ।

कात्तिक ९ गते देशभरका ७५३ स्थानीय तहमा अधिवेशन हुने एमालेले जनाएको छ । अधिवेशन तथा नेतृत्व चयन विधिबारे केन्द्रबाट मापदण्ड पठाइने तामाङले बताए। ‘वडा र स्थानीय तहको अधिवेशनका लागि केही मापदण्ड केन्द्रबाट जान्छ, बाँकी जिल्ला कमिटीले विधानअनुसार निर्णय गर्छ’, उनले भने। तामाङका अनुसार एमालेले गाउँ र नगरपछि जिल्ला अधिवेशन पनि गर्नेछ ।

एमाले केन्द्रीय कार्यालयले बढीमा ५ सय वडालाई जुममा जोडेर अध्यक्ष केपी शर्मा ओलीले एकैपटक भर्चुअल रुपमा वडा अधिवेशनहरूको उद्घाटन तथा शुभकामना सन्देश दिनेगरी तयारी गरेको छ। एमालेको महाधिवेशन मंसिरमा बुटवलमा हुने बताइएको छ ।  उता मंगलबार बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सदस्यता नवीकरण र स्थानीय सम्मेलनको तालिका परिवर्तन गरेको छ। बैठकले राष्ट्रिय सम्मेलनबाहेक अन्य तहका सम्मेलनको तालिका हेरफेर गरेको हो ।

प्रवक्ता कृष्णबहादुर महराले दिएको जानकारीअनुसार पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म तोकिएको छ। यस्तै टोल सम्मेलनहरू कात्तिक २७ गतेसम्म हुनेछन् । मंसिर ४ गतेसम्म वडा सम्मेलन गरिसक्नुपर्नेछ । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us