केपी ओलीले पार्टीलाई सही ढंगले चलाउनुभएन्, हावाका गफ गर्नुभयोः मन्त्री झाँक्री

काठमाण्डु टुडे २०७८ कार्तिक १ गते १७:०९ मा प्रकाशित

पाल्पा, १ कात्तिक – शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जनताको पक्षमा काम गर्ने मौका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जस्तो कसैले नपाएको दाबी गर्दै उनी त्यसमा असफल भएको बताएकी छिन् ।

नेपाल पत्रकार महासंघ पाल्पाले सोमबार तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले ओली एक्लै हिँडने प्रयास गर्दा नेकपा एमालेमा विद्रोह र भत्किने प्रक्रिया शुरु भएको बताइन् ।

‘नयाँ संविधान कार्यान्वयन गरेर मुलुकलाई आर्थिक, सामाजिक रुपान्तरण गर्ने मौका उहाँमा थियो । त्यो मौकामा आफ्नै बहुमतको सरकार थियो’ उनले भनिन्, ‘सामान्य समन्वय नगरेर एक्लै हिँडने जुन प्रयास गर्नुभयो, र सुशासन होइन्, कुशासन दिने जुन प्रयास गर्नुभयो त्यसैबाट बिद्रोह र भत्किने प्रक्रिया शुरु भएको हो ।’

ओलीतर्फ इंकित गर्दै उनले अगाडि भनिन्, ‘उहाँले पार्टीलाई सही ढंगले चलाउनुभएन् । राज्यसत्ता सही ढंगले चलाउनुभएन् । जवाफदेहीता दिनुभएन् । हावाका गफ गर्नुभयो ।’

पत्रकार भेटघाट कार्यक्रममा मन्त्री झाँक्रीले वर्तमान सरकारले भ्रष्ट्राचार र कुशासनविरुद्ध काम गर्ने बताइन् । उनले भनिन्, ‘विगतमा पनि भ्रष्ट्राचार र गलत शासनका बिरुद्ध लड्दै आएकाले सरकारले जवाफदेहीता, पारदर्शीता र भ्रष्ट्राचार बिरुद्धको शून्य सहनशिलतालाई प्राथमिकतामा राखेर काम गर्छु।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us