आज महाअष्टमी, शक्तिपीठमा घुइँचो

काठमाण्डु टुडे २०७८ असोज २७ गते ५:५८ मा प्रकाशित

काठमाण्डु, २७ असोज– हिन्दू धर्मालम्बीको महान् पर्व दशैंको आठौं दिन आज महाअष्टमी पर्व मनाइँदैछ ।

आजका दिन देशभरका शक्तिपीठका साथै घरघरमा महाकालीको विशेष पूजा गरी रातमा कालरात्रि गर्ने प्रचलन छ । यस  दिन नेपालीहरुको घरघर, शक्तिपीठ र देवी मन्दिरशरुमा नवदुर्गा भवानीको पूजा गरेर मनाइएको छ । आज विहानै देखि शक्तिका प्रतिक मानिने महाकाली र देवी भगवतीका मन्दिरमा भक्तजनहरुको भीड लागेको छ ।

काठमाण्डु उपत्यकका दक्षीणकाली, नक्साल भगवती, मैतीदेवी, गुह्येश्वरी, कालिकास्थान शोभा भगवती, भद्रकाली, नरदेवी, बज्रबाराही, बज्रबाराही बंगलामूखि लगायतका शक्तिपीठमा बली दिने पूजा आराधाना गर्नेको भीड लाग्ने गर्दछ । त्यस्तै गोरखाको गोरखकाली, चितवनको मौलाकालिका, काभ्रेको पलाञ्चोक भगवती, नेपालगञ्जको बागेश्वरी, धादिङको त्रिपुरासुन्दरी लगायत देशैभरका शक्तिपीठमा भत्तलजनको घुइँचो लागेको छ ।

शक्तिपीठहरुमा पुजाअर्चनाका साथै राँगा, बोका हाँस, कुखुरा र परेवा लगायत पशुपंक्षी पञ्चवली बलि दिने प्रचलन छ । सात्विकहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन् । महाअष्टमीका दिन शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि देवीहरूको पूजाआजा गरिन्छ ।

महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातमा कालरात्रिको पनि पूजा गरिने प्रचलन छ । अघिल्लो वर्ष कोरोना महामारीका कारण बन्द शक्तिपीठहरु यो वर्ष महामारी कम भएसँगै खुलेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us