फुट्यो एमाले कर्मचारी संगठन

काठमाण्डु टुडे २०७८ असोज ४ गते ७:२८ मा प्रकाशित

काठमाण्डु, ४ असोज– स्थापनाको ३१ वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन विधिवत रूपमा फुटेको छ ।

माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (एककिृत समाजवादी) पार्टीनिकट कर्मचारीले एमालेनिकट कर्मचारी संगठनलाई फुटाएर नयाँ कर्मचारी संगठन निर्माण गरेका छन् ।

यद्यपि दुवै पक्षले संगठनको नाम एउटै राखेका छन् । दुवै पक्षले संगठन नफुटेको र एकले अर्कोलाई कारबाही गरेको दाबी गरेका छन् । दुवैले संगठनको नाम नेपाल निजामती कर्मचारी संगठन नै दाबी गरेका छन् ।

दुवै पक्षले आधिकारिक ट्रेड  युनियनको अध्यक्षमा छुट्टाछुट्टै नेतृत्व पठाएका छन् । २०७३ जेठमा आधिकारिक ट्रेड युनियनको चुनाव हुँदा सबैभन्दा बढी भोट ल्याएको एमालेनिकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठनले अध्यक्ष पद पाएको थियो । दोस्रो भोट ल्याएको नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनले महासचिव पद पाएको थियो ।

आफूले पाएको अध्यक्ष पदमा नेपाल निजामती कर्मचारी संगठनले पुण्य ढकाललाई पठाएको थियो। ढकाल उपसचिव पदमा बढुवा भएपछि रिक्त ठाउँमा आधिकारिक ट्रेड  युनियनका उपाध्यक्ष भोला पोखरेल कार्यबाहक अध्यक्ष नियुक्त भएका थिए । पोखरेल माधव नेपालनिकट मानिन्छन् ।

केपी ओलीनिकट कर्मचारीहरूले भोला पोखरेललाई फिर्ता बोलाई पोखरेलको ठाउँमा ओलीनिकट अध्यक्ष केदार देवकोटाले आफैंलाई सिफारिश गरेका छन् । यता नेपालनिकट कर्मचारीहरूले आधिकारिक ट्रेड युनियनको अध्यक्षमा कर्मचारी संगठनका पूर्वअध्यक्ष तथा माधव नेपालनिकट मोहन घिमिरेलाई सिफारिश गरेका छन् ।  नागिरक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us