रुपन्देही, ३० भदौ – लुम्बिनी प्रदेश सांसद विमला खत्री वलीले नेकपा एमाले साथै पूर्व मुख्यमन्त्री शंकर पोखरेलले आफूलाई सिध्याउ लागेको हुँदा उनीहरुविरुद्ध उजुरी दिएको बताएकी छन् ।
उनले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा मंगलबार पोखरेलसहित चारजनाविरूद्ध ‘शरीर बन्धक तथा अपहरण’ गरेको आरोपमा किटानी जाहेरी दिएकी छन् । वलीले पोखरेल मुख्यमन्त्री रहँदा साउन १५ गतेदेखि ५ दिनसम्म आफूलाई दाङबाट ल्याएर मुख्यमन्त्री निवासमा बन्धक बनाएको दाबी गरेकी छन् ।
‘म त्यो बेला मुद्दा मामिला गर्ने पक्षमा थिइनँ’ सांसद वलीले भनिन्, ‘तर पछि मलाई राजनीतिकरुपमा सिध्याउने हिसाबले उहाँहरु लागेपछि वाध्य भएर मुद्दा दर्ता गर्ने निर्णयमा पुगेकी हुँ ।’
आफूले माओवादी केन्द्र रोजेपनि एमालेले आफ्नै पार्टी दावी गर्दै कारवाहीको प्रक्रिया थालेको र छोरालाई उक्साएर अंश मुद्दा दर्ता गरेपछि आफूलाई असह्य भएको ओलीले बताइन् ।
‘मलाई उहाँहरूले सिध्याउन हरेक हतकण्डा अपनाउनुभयो, मलाई शान्तसँग बस्नै दिनुभएन’ सांसद वलीले भनिन्, ‘अब म पनि चुप लागेर बस्ने अवस्थामा रहिनँ, अब कानुनी लडाईंमै उत्रिएँ ।’