‘इन्जिनियर समाजका आर्किटेक्ट हुन’

काठमाण्डु टुडे २०७८ साउन ३ गते १८:१८ मा प्रकाशित
काठमाण्डु, ३ साउन– नेपालमा राजनीतिक परिवर्तनसँगै ‘विकास’को बहसले निकै व्यापकता पाएको छ । विकासको बहसमा अन्य क्षेत्रसँगै इन्जिनियरहरुको पनि प्रयाप्त सहभागिता छ । गाउँको एउटा कुलो निर्माणमा होस अथवा देशका राष्ट्रिय गौरवका आयोजना अघि बढाउने मामिलामा होस यो विकासको अवधारणासँग जोडिन्छ र त्यहाँ इन्जिनियरहरुको भूमिका टडकारो हुन्छ । ‘इन्जिनियर्स डे’ का सन्दर्भमा, युवा पुस्ताका इन्जिनियरहरु के सोची रहेका छन् ? भन्ने जान्नका लागि ०६५ सालमा काठमाडौं इन्जिनियरिङ कलेजका स्ववीयु सभापति रहिसकेका तथा विगत एक दशकदेखि इन्जिनियरिङलाई पेशा बनाएर सक्रिय राजनीतिमा सहभागी रहेका जीपी मैनालीसँग विविध विषयमा कुराकानी गरेका छौँ । 

‘इन्जिनियर्स डे’ का दिन तपाईंले सम्झना गरिरहेका कोही इन्जिनियरहरु छन् कि ? 

हामीले विगत लामो समयदेखि एउटा रित पु¥याउनका लागि मात्रै यो दिवस मनाई आएका छौँ । नेपालको इन्जिनियरिङ क्षेत्रले गर्व गर्न मिल्ने र सम्मान गर्न योग्य अग्रज पुस्ताका थुप्रै नामहरु छन् । तर, मलाई चाहिँ केही समययता इन्जिनियरिङ पेशा भन्दा बाहिरका समाज विज्ञानका ज्ञाता हर्क गुरुङको सम्झना आउँछ । हर्क गुरुङको आलोचना गर्न नसकिने होइन । तर, एउटा इन्जिनियरको आँखाबाट हेर्ने हो भने म उहाँलाई ‘सोसियल इन्जिनियर’का रुपमा सम्झन पुग्छु । हाम्रो देशमा अन्य मुर्धन्य इन्जिनियरहरु नभएका होइनन्, तर धेरैले विकास र समाजलाई जोडेर हेर्न सकेको देखिँदैन । सबै इन्जिनियरले गुरुङले के गर्नु भएको थियो ? र, हामीले के गरिरहेका छौँ ? भन्ने प्रश्नको आलोकबाट यसलाई हेर्नु पर्छ ।
अहिले इन्जियनियरहरु नाफाखोरहरुको नाफा कमाउने औजारका रुपमा प्रयोग भए भन्ने आरोप लागि रहेको सन्दर्भमा म चाहिँ त्यस्ता केही अपवाद इन्जिनियरिहरुलाई सम्झन्छु, जसले विकट पहाडका अप्ठेरा भूगोलमा काम गरिरहेको मजदुरको जीवनलाई सरल बनाउने गरि आफ्नो विज्ञतालाई त्यसमा प्रयोग गरे । वा तराईको खेतमा आजको आधुनिक समयमा पनि निकै कठिन र पुरातन तवरबाट परिश्रम गरिरहेको बुढो किसानको कामलाई सरल बनाउन मद्द गरे ।

भौतिक संरचना खडा गर्नु मात्रै इन्जिनियर्सहरुको भूमिका हो अथवा समग्र विकासको एउटा मोडेलमा मुलुकलाई अघि लम्काउनु इन्जिनियर्सको वास्तविक भूमिका हो ?

देशलाई कुन दिशामा अघि बढाउने, त्यसको खाका कोर्ने राजनीति नै हो । तर, एकैछिन तपाईं राजनीतिज्ञ भएर सोच्नुस त । राजनीतिज्ञले यो देशको अर्थतन्त्र, कृषि, स्वास्थ्य, सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, समाजको पुनर्संरचना र विकासको मोडेल आदिबारे कति सोच्न सक्लान ? के उनीहरु पनि हामी जस्तै सामान्य मानिस होइनन् र ? यसअर्थमा हेर्ने हो भने उनीहरुले तय गर्ने नीतिबारे आ–आफ्ना क्षेत्रका विज्ञहरुले सुझाउने, विश्व अनुभवबारे भन्ने होला नी । तर, हामीले अहिलेसम्म अभ्यास गरि आएको चलन के हो भने विज्ञहरु सबै जागिर खान व्यस्त छन् । उनीहरु आफ्नो परिवारको समृद्धि भन्दा माथी उठेर यो देशको समृद्धिका बारेमा बोल्न, सोच्न र राजजीतिज्ञलाई दबाब दिने तहसम्म आई सकेका छैनन् ।
यसले गर्दा हाम्रो देशको विकासको मोडेल कस्तो हुने भन्ने हामीसँग स्पष्ट मार्गचित्र छैन । जबकी विकास र संरचनाको क्षेत्रमा काम गर्दै आई रहेका इन्जिनियरहरुले यो देशको विकासको मोडेल कस्तो हुने हो भनेर व्यापक छलफल चलाउने र हाम्रो पर्यावरण, हाम्रो हिस्टोरिकल लिगेसीलाई अघि बढाउने ढंगको विकासको मोडेल कस्तो हुनु पर्छ भनेर भन्नु पर्ने थियो । त्यसैले मैले के भन्ने गरेको छु भने सहि अर्थमा इन्जिनियरहरु समाजका आर्किटेक्ट हुन । उनीहरुले समाजका बारेमा पनि त्यति नै चनाखो हुनु पर्छ जति एउटा समाजशास्त्री अथवा समाज विज्ञानमा काम गर्ने विध्यार्थी ।

काठमाडौंलाई जसरी कंक्रिटको जंगलमा परिणत गरिएको छ त्यसका दोषी राजनीतिक नेतृत्वसँगै इन्जिनियर्सहरु पनि हुन् भन्ने मत बलियो भई रहेको छ, जुन स्वभाविक पनि लाग्छ । यसो सोच्नुस त हामीले कस्तो शहर बनाएछौँ– जहाँ सिङ्गो उपत्यका घुम्दा पनि एउटा राम्रो पार्क भेट्टाउन हम्मे पर्छ ।

विकासको जुन अन्धाधुन्ध मोडेलमा हामी प्रवेश गरेका छौँ, त्यहाँ पार्कले भन्दा सडकले महत्व राख्ने गरेको छ । त्यसैले त गाउँ–गाउँमा कि त डोजर धनीहरु पालिका प्रमुख भएका छन् कि पालिका प्रमुखहरु डोजर किन्न व्यस्त छन् । यसको अर्थ के हो भने त्यहाँको विकास डोजरले नेतृत्व गरिरहेको छ । डोजरको आफ्नो विकास चेत हुँदैन । त्यसैले त एमाले नेता घनश्याम भुषालले– ‘यो डोजर लोकतन्त्र हो’ भन्नु भयो । डोजर लोकतन्त्रमा पार्कको ठाउँ ठूला–ठूला मलले ओगट्छन । यो स्वभाविक जस्तै हो । तर, पर्यावरणप्रति हामीले गरेको यो अन्यायको ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ । पर्यावरणप्रति सरकार र विकास कर्ममा लागेका इन्जिनियरहरु गम्भिर नहुने हो भने यसले हाम्रो पेटलाई होइन फोक्सोलाई नै अवरुद्ध गर्ने निश्चित छ । अब तपाईं आफै भन्नुस तपाईंका लागि पहिलो महत्वको पेट हो अथवा फोक्सो ?
मैले पर्यावरणको विषयालाई यति महत्वका साथ किन जोडेको भने विश्वभर हामी मानिसले प्राकृतिक स्रोतको जसरी गलत ढंगले दोहन गरिरहेका छौँ, त्यसले आगामी पुस्तालाई यो पृथ्वीमा बस्न लायक नछोड्ने पक्का छ । र, यो पृथ्वीको स्वत्वलाई जोगाउँदै, हामीले हाम्रा आवश्यकता पुरा गर्दै यो हरियो र स्वस्थ पृथ्वी आगामी पुस्तालाई कसरी हस्तान्तरण गर्ने भन्ने विषयको मुल चासो इन्जिनियरहरुले गर्नु पर्ने होइन र ? मलाई लाग्छ यसबारेमा हामीले सोच्न ढिला गरिसकेका छौँ । पर्यावरणको सवाल समग्र मानवजातिका लागि सबै भन्दा महत्वपूर्ण सवाल हो । पछिल्लो ५० बर्षमा पर्यावरणमा आएको उतार–चढाबले पृथ्वीका कति प्रजाति लोप भए र कति लोप हुने क्रममा छन् भनेर एक पटक जो कसैले गुगल गर्नु भयो भने तपाईंका अघिल्तिर डरलाग्दो तथ्यांक देखा पर्छ । तर, पनि हामी यसप्रति सचेत छैनौँ ।

पछिलो ६ महिनाको सबै भन्दा महत्वपूर्ण राजनीतिक घटनाक्रम संसद विघटनको वरपर केन्द्रीत थियो र यसमा सबै जसो राजनीतिक दल तथा सामाजिक संघ संस्थाहरुले आवाज उठाए, तर इन्जिनियर्स एशोसियसन भने ‘प्रो एक्टिभ’ भएको महशुस कसैले गर्न सकेनन् यस्तो किन ?

होइन । यस विषयमा इन्जिनियर्सहरुले प्रयाप्त पहल लिएका छन् । संसद विघटन र त्यस वरपरको राजनीतिक घटनाक्रममा इन्जिनियर्स एशोसिएसनले पनि पहल लिएको छ ।

ट्रम्पको बहिर्गमनपछि अमेरिकालाई कानुनले नेतृत्व गरेको र चीनलाई इन्जिनियर्सहरुले नेतृत्व गरेको देशका रुपमा चिनिन्छ, विश्व मानचित्रमा नेपाललाई कहाँ लोकेट गर्न सकिन्छ ?

डोनाल्ड ट्रम्प राष्ट्रपतिबाट बाहिरिँदै गर्दा उनले आफ्ना समर्थकहरुलाई लगाएर जसरी क्यापिटल हिल कब्जा गराए त्यसका आधारमा मात्रै ट्रम्प र कानुनी राज्यको कुरा आउने हो । तर, त्यसलाई पपुलिजमको एउटा अपवाद मान्ने हो त्यस पूर्व जहिले पनि अमेरिकालाई कानुनी राज्यका रुपमै बुझ्नु पर्ने हुन्छ । अर्को एउटा रमाइलो पक्ष के छ भने वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडनले कानुनमा अध्ययन गरेका हुन भने चिनिया राष्ट्रपति सी जिनपिङले सिङह्वाबाट इन्जिनियरिङको अध्ययन गरेका हुन् । यसलाई संयोग पनि भन्न सकिएला र यसलाई एउटा राष्ट्रको परिकल्पनाको परिणाम पनि भन्न सकिएला ।
तर, यसै आलोकमा नेपाललाई हेर्ने हो भने अवस्था बडो दयनिय देखिन्छ । हाम्रा प्रधानमन्त्री शेरबहादुर देउवाले बितेको पाँच बर्षमा कतै अन्तरवार्ता दिएको मलाई सम्झना छैन । उहाँले कुनै पत्रकार सम्मेलन गरेर पत्रकारहरुको सवालमा कहिले जबाफ दिएका थिए भन्दा पनि उत्तर फेला पर्दैन । पढ्न त उहाँले लण्डन स्कुल अफ इकनोमिक्सबाट पढेको भन्ने आम बुझाई छ । तर, त्यसबारे पनि उहाँले कुनै युवा विद्यार्थीलाई बोलाएर अर्थतन्त्र, राजनीति अथवा समाजका यावत विषयमा छलफल गरेको सुन्न सकिन्न । जबकी यसको तुलनामा अमेरिकी र चिनिया राष्ट्रपतिहरु निरन्तर संवादमा रहेको देखिन्छ ।
अहिले गुगल, अमेजन, एप्पलसहित दुनियाका सबै भन्दा ठूला पाँच सय कम्पनीका नेतृत्वकर्ता (सिइओ) मा बहुसंख्यक इन्जिनिर ग्राजुएट हुन् । तर, हाम्रो देशको हविगत नै भन्नु पर्ला यहाँ इन्जिनियरहरु २०–५० हजारको जागिरका लागि भौतारिनु पर्ने अवस्थाको अन्त्य अझै भई सकेको छैन । जबकी हालसम्म देशमा रहेका सिभिल इन्जिनियरको मात्रै कुरा गर्नु हुन्छ भने एउटा कर्णाली प्रदेशको विकासका लागि मात्र पुग्ने संख्या हामीसँग छ । हिजो अशिक्षाको चपेटामा परेकाहरु कतार जान्थे, आज इन्जिनियरहरु कतार जानु पर्ने अवस्था छ ।
विश्व मानचित्रमा हामीले आफैलाई लोकेट गर्नु परेमा यो भन्दा भिन्न तस्विर जति प्रयास गरे पनि देखिँदैन । विश्व मानचित्रमा हाम्रो वास्तविक अवस्था के हो भन्ने बुझ्नका लागि एउटा उदाहरण नै काफी छ– एउटा परामर्शदाता कम्पनी चलाई रहेको इन्जिनियरले एउटा काम सकेर त्यसको परिणाम दिनु अघिसम्मम उसले सबै माथिल्ला सरकारी निकायहरुदेखि गाउँ स्तरका टोले दलालसम्मलाई रिझाउँदै काम गर्नुपर्ने हुन्छ । त्यसमा उसले परियोजनाको ५० प्रतिशतसम्म रकम खर्च गरि सकेको हुन्छ । यस्तो अवस्थामा उसले आफ्नो पेशाको सम्मान राख्दै त्यसको प्रतिष्ठा जोगाउन कसरी सम्भव हुन्छ ? यस्तो अवस्थाका बीच सम्पन्न हुने कामको परिणाम कस्तो आउँछ भन्ने तपाईं अनुमान गर्न सक्नु हून्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us