राष्ट्रपतिद्वारा देउवालाई अस्वीकार, ओलीलाई स्वीकार !

काठमाण्डु टुडे २०७८ जेठ २२ गते १०:२२ मा प्रकाशित

??????

काठमाण्डु, २२ जेठ– काँग्रेस नेता बालकृष्ण खाँणले कामचलाउ सरकारको मन्त्रिपरिषद पुनर्गठन गरिएकामा आपत्ति जनाएका छन् ।

विघटित संसदमा काँग्रेसका प्रमुख सचेतकसमेत रहेका खाँणले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा मन्त्रिपरिषद पुनर्गठन गरेको आरोप लगाए । निर्वाचन घोषणापछि यसअघि राष्ट्रपतिले अस्वीकार गरेको खाँणले स्मरण गरे ।

काँग्रेस सभापति शेरबहादुर देउवाले अघिल्लो संसदीय निर्वाचन घोषणापछि मन्त्रिपरिषद पुनर्गठन गर्न खोज्दा राष्ट्रपतिले अस्वीकार गरेको खाँणले बताए । एमालेसँग चुनावी तालमेलमा हस्ताक्षर गरेपछि माओवादी केन्द्रबाट देउवा सरकारमा सहभागी मन्त्रीले सामूहिक राजीनामा दिएका थिए । त्यसपछि देउवाले रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गरेका थिए ।

‘कामचलाउ सरकारका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्नु संविधानको प्रतिकूल’, नेता खाँणले सामाजिक सञ्जालमा लेखेका छन्, ‘श्री शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदको पुनर्गठनका लागि राष्ट्रपतिसँग परामर्श गर्दा निर्वाचनको मिति तोकिएको हुँदा पुनर्गठन अस्वीकार ।’

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ८ जेठमा दोश्रोपटक प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी छन् ।

 ओलीले शुक्रबार मन्त्रिपरिषदमा व्यापक हेरफेर गरका छन् । ओलीले राजेन्द्र महतोको नेतृत्वमा जसपाका ९ नेतालाई मन्त्री नियुक्त गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us