केपी ओलीको मन्त्री भएर बस्न मनले मानेनः त्रिपाठी

काठमाण्डु टुडे २०७८ जेठ २१ गते २१:३२ मा प्रकाशित

काठमाण्डु, २१ जेठ– स्वतन्त्र सांसद हृदयेश त्रिपाठीले मन्त्री पद अस्वीकार गरेका छन् ।

शुक्रबारको मन्त्रिपरिषद पुनर्गठनमा असन्तुष्टि जनाउँदै उनले सरकारबाट बाहिरिने निर्णय गरेका हुन् । त्रिपाठी यसअघि ओली सरकारमा केही समय सामान्य प्रशासन र पछि स्वास्थ्य तथा जनसंख्यामन्त्री थिए । सुरज वैद्यसहित प्रधानमन्त्री केपी ओलीनिकट व्यवसायीले ३५ करोड कमिशन मागेका कारण भारतबाट कोभिड–१९ विरुद्धको खोप ल्याउन नसकिएको अभिव्यक्तिका कारण त्रिपाठी चर्चा र विवादमा आएका थिए ।

श्रोतका अनुसार ओलीले त्रिपाठीलाई मन्त्रीमा निरन्तरता दिन चाहेका थिए । तर, राजनीतिमा आफूभन्दा कनिष्ठहरु विष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतो उपप्रधानमन्त्रीमा नियुक्त हुने भएपछि नैतिकताका आधारमा आफूले सरकार छाडेको त्रिपाठीले बताए । ‘राजनीतिमा मभन्दा धेरै जुनियरहरु मभन्दा माथिल्लो वरियतामा मन्त्रिपरिषदमा हुने भएपछि मन्त्री खान मन लागेन’, त्रिपाठीले काठमाण्डुटुडेसँग भने, ‘मेरो लागि नैतिकताभन्दा ठूलो एक थान मन्त्री पद होइन भनेर बस्न मानिन ।’ सरकारमा सहभागी नभए पनि मन्त्रिपरिषदका नयाँ सदस्यहरुलाई शुभकामना रहेको उनले बताए ।

कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीले शुक्रबार आफ्नो दल एमालेका केही र जनता समाज वादी पार्टी (जसपा) का ८ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरी मन्त्रिपरिषदमा व्यापक हेरफेर गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us