जब प्रचण्ड र देउवाबीच हिसाब मिलेन…

काठमाण्डु टुडे २०७८ वैशाख २५ गते ८:३७ मा प्रकाशित

काठमाण्डु, २५ वैशाख– कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच देउवा निवास बूढानीलकण्ठमा शुक्रबार साँझ आधा घण्टा कुराकानी भयो ।

दाहालले देउवालाई ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइहालौं भनेर प्रस्ताव गरे । देउवाले अझै पनि संख्या नपुगेको बताए ।  ‘कस्तो कुरा गर्नुहुन्छ तपाईं ? मलाई प्रधानमन्त्री हुन मन नभएको हो र ?’ देउवाले दाहालसँग भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘खोइ संख्या ?’

जवाफमा दाहालले नेपाल पक्षका सांसदले राजीनामा दिने र जसपाका पनि कम्तीमा १८ जना सांसद आउने भएपछि बहुमत पुग्ने हिसाब पेस गरेका थिए । देउवाले भने नेपालपक्षीय नेताहरूले राजीनामा दिन्छन् भन्ने आफूलाई नलागेको बताए ।

 ‘उहाँहरूको विश्वास हुनुप-यो , मैले अविश्वास प्रस्ताव पेस गर्ने, नेपालजीहरूले राजीनामा नदिने भयो भने के हुन्छ ?’ देउवाले दाहालसँग सोधेका थिए । देउवाले यही प्रश्न बिहीबार एमाले नेता नेपालसँग पनि सोधेका थिए ।

अविश्वास प्रस्ताव ल्याउँदा जसरी नि बहुमत पुग्छ भनेर विश्वस्त दिलाउन पुगेका नेपाललाई देउवाले तपाईंहरूले राजीनामा दिनुहुन्छ भने म अविश्वास प्रस्ताव ल्याइहाल्छु भन्ने जवाफ दिएका थिए । देउवालाई ढुक्क हुनु भनेर फर्किएका नेपाल त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास छिरेका थिए ।

बिहीबार साँझदेखि शुक्रबार साँझसम्म एमालेभित्र भइराखेको दौडधुपका कारण पनि देउवाले तत्कालै अविश्वासको प्रस्ताव ल्याइनहालौं भन्ने प्र्रस्ताव दाहालसँग गरेको उनीनिकट एक नेताले बताए । ‘अहिले एमाले नै अनिर्णीत छ, उहाँहरू के निर्णय गर्नुहुन्छ त्यो कुरौं त्यसपछि हेरौंला,’ देउवा र दाहालबीचमा भएको संवाद उद्धृत गर्दै दाहालनिकट स्रोतले बतायो । कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us