माधव नेपालद्वारा प्रधानमन्त्रीमा देउवालाई समर्थन

काठमाण्डु टुडे २०७८ वैशाख २३ गते १९:३७ मा प्रकाशित

काठमाण्डु, २३ वैशाख– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।

सत्ता समीकरणको दाउपेच तीव्र भएका बेला देउवा भेट्न नेपाल बिहीबार बुढानीलकण्ठ पुगेका थिए । देउवाका स्वकीय सचिव भानु देउवाले दुई पूर्वप्रधानमन्त्रीबीच भेटवार्ता भएको स्वीकार गरे । श्रोतका अनुसार भेटमा देउवाले नेपाल समूहको आगामी रणनीतिबारे चासो राखेका थिए । प्रधानमन्त्री केपी ओलीले २७ वैशाखमा विश्वासको मत लिन संसदको विशेष अधिवेशन बोलाएका छन् । नेपाल समूहका प्रत्यक्ष निर्वाचित २२ सांसदले ओलीलाई विश्वासको मत दिनुअघि नै सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

नेपाल समूहले राजीनामा दिए जसपाले एक ढिक्का भएर समर्थन गर्दा पनि ओली सरकार टिक्दैन । संसदमा बहुमत पु¥याउन ओलीलाई कम्तिमा १ सय ३७ सांसदको समर्थन चाहिन्छ । एमालेका १ सय २१ र जसपाका ३० सांसद छन् । तर, जसपामा ओलीलाई विश्वासको मत दिने र नदिनेमा स्पष्ट दुई धार देखिएको छ । पूर्वराजपाको महन्थ ठाकुर र राजेन्द्र महतो समूह ओलीलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् । तर, पूर्वजसपाको उपेन्द्र–बाबुराम पक्ष र पूर्वराजपाकै महेन्द्र यादव र राजकिशोर यादव ओलीलाई समर्थन नगर्नेमा अडिग छन् । महन्थ–राजेन्द्र पक्षमा १२ देखि १४ सांसद मात्र छन् ।

ओलीले बुधबार आफ्नो समूहको दलबलसहित बुढानीलकण्ठ पुगेर देउवालाई अविश्वास प्रस्तावमा सघाउन आग्रह गरेका थिए । तर, देउवाले ओलीको प्रस्ताव ठाडै अस्वीकार गर्दै विपक्षमा मत हाल्ने जानकारी गराए । देउवा काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह र जसपाको उपेन्द्र–बाबुराम समूहका साझा प्रधानमन्त्री उम्मेदवार हुन् । २७ गते संसदको विशेष अधिवेशन सुरु हुनु अगावै ओलीविरोधी गठबन्धनले सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । माओवादी केन्द्रले बुधबार मात्र ओलीलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएसँगै देउवा आफ्नो पक्षमा बहुमत जुटाउन सक्रिय भएका छन् ।

श्रोतका अनुसार देउवाले सरकारमा कसरी सहकार्य हुन सक्छ भन्नेबारे नेपालसँग छलफल गरेका छन् । जवाफमा नेपालले मुलुकको एक नम्बर समस्या ओली भएकाले उनको सरकार ढाल्न जस्तोसुकै कदम उठाउन पनि तयार रहेको उल्लेख गरेका थिए । उनले आफ्नो समूहले संसदको विशेष अधिवेशन अगावै सामूहिक राजीनामा दिने जानकारी देउवालाई गराए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us