गैँडाकोट नगरपालिकाले अक्सिजनसहितको २० शय्याको आइसोलेशन तयार

रासस २०७८ वैशाख २३ गते १६:२१ मा प्रकाशित

नवलपुर, २३ वैशाख– गैँडाकोट नगरपालिकाले अक्सिजनसहितको २० शय्याको आइसोलेशन तयार पारेको छ । वडा नं ११ स्थित गैँडाकोट नगर अस्पतालसँगै रहेको कभर्ड हललाई नै आइसोलेशनका रूपमा तयार गरिएको नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिए ।

आइसोलेशनका लागि तीन कोठा निर्माण गरिएको जनाउँदै पौडेलले एउटा कोठामा १६ बिरामी राख्न सकिने तथा बाँकी दुई कोठामा दुई-दुई बिरामी राख्न मिल्ने गरी आइसोलेशन तयार पारिएको बताए ।

दुई एमबिबीएस चिकित्सकसहित एचए र अनमी कार्यरत सो अस्पतालमा आइसोलेशन सञ्चालनपछि थप दुई स्टाफ नर्स नियुक्त गरिएको छ । त्यस्तै दुई अनमी छनोट प्रक्रियामा रहेका नगर प्रमुख पौडेलले बताए ।

नगरपालिका स्वास्थ्य शाखाबाट आवश्यक कपडा र औषधिको व्यवस्थापनपछि अक्सिजन, चिसो–तातो पानी, पानी तताउने भाँडा, बिजुली, इन्टरनेट, झुल, पङ्खासहित व्यवस्थापन गरिएको र आवश्यक थप सामग्री थप्दै लैजाने पौडेलको भनाइ छ ।

नगरभित्रका बिरामीलाई अक्सिजनको आवश्यकता परेमा चिकित्सकले राख्नुपर्ने भनेमा आइसोलेशनमा राखिने छ । कोभिड सङ्क्रमणका कारण वडा नं ११ मा बुधबार बिहान एक व्यक्तिको मृत्यु भएपछि नगरपालिकाले तीव्ररूपमा आइसोलेशन सञ्चालनमा ल्याएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us