देवरसँगको अनैतिक सम्बन्ध खुलेपछि श्रीमान हत्या गर्ने युवती पक्राउ

काठमाण्डु टुडे २०७८ वैशाख २१ गते २१:३१ मा प्रकाशित

धनुषा, २१ वैशाख– देवरसँगको अनैतिक सम्बन्ध खुलेपछि पतिको हत्या गरेर फरार महिला पक्राउ परेकी छन् ।

धनुषाको हंसपुर नगरपालिका–६ टिल्हीकी २३ वर्षीया सुशीलादेवी मण्डल पति हत्यापछि फरार थिइन् । सुशीला, उनका देवर अनिल मण्डलसहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका अन्य दुई जनामाथि भने सुशीला र अनिललाई भगाउन सघाएको आरोप प्रहरीको छ ।

सुशीलाले गत शुक्रबार राति देवरसहितको सहयोगमा २५ वर्षीय श्रीमान शम्भु मण्डलको घाँटी रेटेर हत्या गरेकी थिइन् । केही समयअघि मात्र वैदेशिक रोजगारीबाट फर्किएका मृतकले भाइसँग आपत्तिजनक अवस्थामा भेटेपछि श्रीमती सुशीलालाई कुटपिट गरेका थिए ।

कुटपिटपछि भागेर माइत गएकी सुशीलाले घर फर्किएर श्रीमानको हत्या गरेकी थिइन् । घटनापछि फरार देवर भाउजुलाई उदयपुर सदरमुकाम गाइघाटबाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । धनुषा प्रहरीका प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले उनीहरुलाई गाइघाटस्थित मन्दिरमा बसेका बेला पक्राउ गरिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us