प्रदेश प्रमुखबाट हटाइएका अमिक शेरचन भन्छन्ः अधिकारविहीन खुला जेलबाट मुक्त भएँ

काठमाण्डु टुडे २०७८ वैशाख २१ गते १०:२६ मा प्रकाशित

पोखरा, २१ वैशाख– सोमबार मात्र गण्डकी प्रदेश प्रमुखबाट हटाइएका अमिक शेरचनले आफू अधिकारविहीन खुला जेलबाट मुक्त भएका प्रतिक्रिया दिएका छन् ।

मंगलबार पोखरामा पत्रकार सम्मेलन गर्दै शेरचनले राष्ट्रपतिले प्रदेश प्रमुखबाट हटाउने निर्णय गरेकामा खुसी लागेको बताए । ‘अधिकारविहीन खुला जेलबाट बाहिर आउन पाउँदा अत्यन्त खुसी छु’, शेरचनले भने, ‘राष्ट्रपतिज्यूलाई मुरीमुरी धन्यवाद छ ।’ आफूले पहिल्यै उक्त पद अस्वीकार गरेको पनि दाबी गरे ।

सुरुमा ओलीले र पछि प्रचण्डले आफूलाई प्रदेश प्रमुख प्रस्ताव गरेको र अस्वीकार गरेको उनको भनाइ थियो । तर, तत्कालीन नेकपाले पार्टी निर्णय गरेपछि पार्टीको इमान्दार सिपाहीका रुपमा आफूले जिम्मेवारी ग्रहण गरेको शेरचनले बताए ।

शेरचनले आफूले सञ्चार माध्यममार्फत पदमुक्त भएको जानकारी पाएको बताए । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले सोमबार शेरचनलाई पदमुक्त गर्दै एमाले ओली समूहकी नेतृ सीता पौडेललाई गण्डकी प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us