ओली समूहमा लागेका रेग्मीलाई कारबाही गर्ने माओवादीको तयारी

काठमाण्डु टुडे २०७७ चैत १० गते ७:५३ मा प्रकाशित

सुर्खेत, १० चैत– नेकपा माओवादी केन्द्रले केपी ओली समूहमा लागेका कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई कारबाही गर्ने भएको छ ।

माओवादी कर्णाली प्रदेशसभा संसदीय दलले रेग्मीलाई कारबाही गर्न केन्द्रीय समितिसमक्ष सिफारिस गरेको हो । रेग्मी दैलेख निर्वाचन क्षेत्र नम्बर–१ (क) बाट निर्वाचित प्रदेश सांसद हुन् । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीचको एकीकरण खारेज गरेसँगै रेग्मी एमाले ओली समूहमा लागेका थिए ।

ओली समूहले रेग्मीलाई केन्द्रीय सदस्य तथा आफ्नो समूहको प्रदेश सचिव बनाएको छ । अर्को पार्टीको केन्द्रीय सदस्य बनेको तथा संसदीय दल बैठकमा सहभागी नभएकाले रेग्मीमाथि कारबाही सिफारिस गरिएको मुख्यमन्त्री एवं संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले बताए ।

माओवादी केन्द्र प्रदशेसभा संसदीय दलको बैठक शुक्रबार बसेको थियो । बैठकमा रेग्मी अनुपस्थित थिए । मुख्यमन्त्री शाही र रेग्मीबीच लामो समयदेखि तिक्ततापूर्ण सम्बन्ध रहँदै आएको थियो । रेग्मीले प्रदेशसभा बैठकका प्रदेश सरकारका हरेक कामको विरोध गर्दै आएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us