
काठमाण्डु, ८ चैत– एमाले उपाध्यक्ष भीम रावलले आफूहरुले नभई प्रधानमन्त्री केपी ओलीलाई स्पष्टीकरण दिनुपर्ने बताएका छन् ।
ओली पक्षको प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय समिति बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
उनीहरुमाथि पार्टी विधान र अनुशासनविपरीत गुटगत भेला गरेको तथा मुख्य नेतृत्वलाई ‘खुइल्याउँदै’ हिंडेको आरोप ओली पक्षले लगाएको छ । नेता रावलले ट्विट गर्दै आफूहरुमाथि स्पष्टीकरण सोध्नेबारे गरिएको निर्णय अवैध भएको टिप्पणी गरेका छन् । ‘केपी ओलीजीले मसमेतका नेताहरुलाई स्पष्टीकरण सोध्ने भन्ने कुरा अवैध छ’, रावलले लेखेका छन्, ‘यो उहाँको निरंकुश, स्वेच्छाचारी प्रवृत्तिको द्योतक हो ।’
त्यस्तो अवैध निर्णय आफूले पूर्णण अस्वीकार गर्ने भन्दै रावलले पार्टी विधान उल्लंघन गर्ने ओलीले स्पष्टीकरण दिनुपर्ने बताएका छन् । रावलले लेखेका छन्, ‘विधान उल्लंघन गर्दै फागुन २८ गते मनपरी निर्णय गरी पार्टी विभाजनको रेखा कोर्नेजस्ता क्रियाकपाल किन गरेको भन्ने विषयमा केपी ओलीजीले जनता र पार्टी पंक्तिलाई स्पष्टीकरण दिनुपर्छ ।’
्