ओली विदेशी शक्तिबाट पालिएका हुन्ः प्रचण्ड

काठमाण्डु टुडे २०७७ चैत ८ गते १६:०४ मा प्रकाशित

काठमाण्डु, ८ चैत– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पूर्वसहकर्मी केपी ओली विदेशी शक्तिबाट पालिएको आरोप लगाएका छन् ।

संघीय गणतन्त्र र संविधान समाप्त पार्न ओलीलाई विदेशीले पालेको आरोप उनले लगाए । पछिल्लो राजनीतिक घटनाक्रममा पनि ओली टिकाउन विदेशी शक्तिले आड दिएको आरोप उनको थियो । तर, उक्त विदेशी शक्ति को हो भन्नेबारे प्रचण्डले थप खुलाएनन् । ‘२०÷२५ वर्षदेखि विदेशीले हुर्काएको र पालित पोषित को हो भनेर हेर्दै जाँदा केपी नै देखिएका छन्’, ५६औं अन्तर्राष्ट्रिय जाति भेद उन्मुलन दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘केपीलाई त्यो धारको प्रतिनिधिको रुपमा अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्न साथ लिएका छन् । कति दिन साथ दिन्छन् थाहा छैन ।’

मुलुकमा संविधान, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीताको पक्ष र विपक्षमा दुई शक्ति देखा परेको भन्दै प्रचण्डले विदेशी शक्तिले ती सबै एजेण्डाका विरोधी केपी ओलीलाई साथ दिएको टिप्पणी गरे । ‘माओवादी आन्दोलनले स्थापित गरेको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीताजस्ता उपलब्धी कसरी निस्तेज पर्ने होला, संविधान कसरी च्यात्ने होला भनेर देशभित्र र बाहिरका गणतन्त्रविरोधी सामन्तवादका दलालहरु, यो संविधान स्वीकार गर्न नसकेकाहरु मिलेर एउटा समूह बनेको छ’, प्रचण्डले भने, ‘उनीहरुले यो संविधानलाई निस्तेज पार्ने मान्छे खोज्दै जाँदा केपी ओली भेटेका छन् ।’

विदेशी शक्तिका अगाडि लम्पसार पर्ने ओली संविधान सकाउन पहाडीया उच्च राजनीतिक अहंकारवादको प्रतिनिधिका रुपमा खडा भएको टिप्पणी प्रचण्डले गरे । ओलीलाई विदेशीले संघीय गणतन्त्र सिध्याउन हुर्काएको उनको भनाइ छ । ओली प्रवृत्तिविरुद्ध आफूले एउटै पार्टीमा हुँदा १९ बुँदे प्रतिवेदन ल्याएर विद्रोहको झण्डा उठाएको भद्र प्रचण्डले त्यस लडाईंमा आफूलाई साथ दिन आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us