कोरोना संक्रमणबाट विदेशमा थप एक नेपालीको मृत्यु

काठमाण्डु टुडे २०७७ चैत ८ गते १३:०७ मा प्रकाशित

लण्डन, ८ चैत– कोरोना भाइरस –कोभिड – १९ को संक्रमणबाट विदेशमा थप एक जनाको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता साउदी अरबमा एकजना नेपालीको संक्रमणका कारण मृत्यु भएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण हालसम्म २१ देशमा रहेका ३ सय ४२ जना नेपालीको निधन भएको थियो ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सापकोटाका अनुसार  यो साता  जापान, भारत, साउदी अरब, कतार, युएई, नर्वे, बेल्जियम र साउथ अफ्रिकामा रहेका  नेपालीहरुमा सामान्य रुपमा थप कोरोना संक्रमण देखिएको छ ।

डा. सापकोटाका अनुसार हालसम्म ५३ देशमा ६३  हजार ६ सय २९ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीमध्ये ६१ हजार ७ सय ७३ जना कोरोना संक्रमणमुक्त भएका छन ।  विदेशमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ८ प्रतिशत रहेको छ । यसैबीच,  कोरोना भाइरसका कारण नेपालमा ३ हजार १६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७५ हजार ८ सय ३९ जना भने  २ लाख ७१ हजार ८ सय १५ जना  कोरोनाबाट मुक्त भएकाछन् ।  संक्रमणमुक्त हुने दर ९८ दशमलव ५ प्रतिशत छ ।

विश्वभर हजारौँ नेपालीले खोप लिइसकेका छन् । अझै पनि मुलुकमा ठूलो संख्यामा नेपालीहरु खोपका लागि पर्खिरहेका छन् । महामारीको जोखिम कम नभएको र खोपको पर्याप्तता पनि सहज नभएको अवस्थामा स्वास्थ्य सावधानीको विकल्प नभएको स्वास्थ्य समितिका संयोजक डा. सापकोटाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us