ललितपुरको इमाडोलमा सडक भत्कियो, पसलहरुमा पनि क्षति

काठमाण्डु टुडे २०८३ साउन ५ गते १२:१३ मा प्रकाशित

काठमाण्डू, ५ साउन– ललितपुरको महालक्ष्मी नगरपालिकामा पर्ने इमाडोल क्षेत्रमा करिब १५ मिटर सडक भासिएको छ । सडक भासिएसँगै किनारसँगै जोडिएका व्यापारिक स्टलहरुमा समेत क्षति पुगेको छ ।

करिब २८ महिनादेखि ‘सर्लाही फर्निचर एण्ड फल्स सिलिङ’ पसल सञ्चालन गर्दै आएका मिथिलेश साहले आफ्नो मात्रै करिब डेढ लाख मूल्य बराबरको सामानमा क्षति पुगेको जानकारी गराएका छन ।

केही दिनअघिदेखि नै सडक किनारमा चिरा देखिएर भत्किन सुरु गरेको थियो । तर हिजो झन् धेरै भत्किएको उनले जानकारी दिए । उनले भने, ‘सडक किनारमा अँस्तिदेखि नै समस्या थियो ।

हिजो त लगभग १५ मिटर जति सडक भत्कियो, ‘पाँचवटा पसल भएको ट्रस नै क्षतिग्रस्त भयो ।’ उनले यसबारे महालक्ष्मी नगरपालिकालाई जानकारी गराइएको र मर्मतको आश्वासन पाएको जानकारी दिएका छन ।

सडक भत्किएको स्थान साविकको इमाडोल गाविसको तीन नम्बर वडा कार्यालयको मन्दिर नजिकै पर्दछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us