सप्तरीको कृषि फार्ममा आगलागी

काठमाण्डु टुडे २०७७ चैत ६ गते १२:०९ मा प्रकाशित

सप्तहरी, ६ चैत–  सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकास्थित कृषि फार्ममा आगलागी हुँदा २० वटा गाई जलेर मृत्यु भएको छ । आगलागीपछि ३० वटा गाई हराएका छन् ।

गाउँपालिकाको वडानम्बर ५ स्थित कृष्णाराम बहुउद्देश्यीय कृषि फार्ममा बिहीबार राति विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीले उक्त फार्ममा पालिएको ६० मध्ये २० वटा गाईको जलेर मृत्यु भएको छ । १० वटा गाई घाइते भएको र ३० वटा हराइरहेको फार्मका संचालक मनोज कुमार साहले बताए ।

एक्कासी विद्युत सर्ट भएर आगो लागेको सञ्चालक मनोजको भनाइ छ ।

आगलागीले फार्मको घरसहित गाईलाई खुवाउने अन्नपातसमेत जल्दा ५० लाखभन्दा बढीको क्षति भएको उनले बताए । प्रहरीका अनुसार आगो राति नै नियन्त्रणमा आइसकेको छ ।

आगो निभाउने क्रममा फार्मका अर्का सञ्चालक दिनानाथ साह घाइते भएका छन् । उनको स्थानीयस्तरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us