केपी ओली ठग रहेछन्, मैले बम हानेंः प्रचण्ड

काठमाण्डु टुडे २०७७ चैत ५ गते २१:१७ मा प्रकाशित

सिन्धुली, ५ चैत– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई ठगको संज्ञा दिएका छन् ।

बिहीबार सिन्धुलीमा स्थानीय पार्टी कार्यकर्तासँगको अन्तरक्रियामा प्रचण्डले ओलीले आफैंले गरेको हस्ताक्षर धेरैपटक उल्लंघन गरेर ठग प्रवृत्ति देखाएको आरोप लगाए । ओलीसँगको तीन वर्षे सहकार्यमा आफूले ओलीलाइ धेरै खराब मानिसका रुपमा चिनेको प्रचण्डको भनाइ थियो । ‘राजनीतिमा अलीअली जालझेल सबैले त गर्छन्’, प्रचण्डले भने, ‘तर, यहाँसम्म आइपुगेर के थाहा भयो भने केपी ओली मान्छे चाहिं महाठग रहेछन् ।’

प्रचण्डले पार्टी एकता जोगाउन आफूले ओलीलाई पाँचै वर्ष प्रधानमन्त्री खान दिएको भन्दै उनले ओली ‘विदेशी प्रतिक्रियावादी’ सँग मिलेर संविधान, गणतन्त्र, संघीयता र ००७ सालदेखिको राजनीतिक संघर्षका उपलब्धी खान खोजेको आरोप लगाए । ओलीले माओवादी आन्दोलनका उपलब्धी, मूल्य–मान्यता र त्यसको नेतृत्व प्रचण्डलाई सिध्याउने डिजाइन गरेकाले उनीसँग लड्न १९ पेजको दस्तावेज पार्टीमा प्रस्ताव गरेको बताए ।

‘तपाईहरुले यसो हेर्नुभयो भने, गहिरो गरी बुझ्नुभयो भने, ओलीको दाउ मलाई सिध्याउने बाहेक केही पनि देखिएन । त्यो हो भने अब लड्नैपर्छ भने अब जमेर लड्नुपर्छ भनेर १९ पेज लामो दस्तावेजको बम हानेको हो । साँच्चैको बम हैन है फेरि’, प्रचण्डले भने । आफूले १९ पेजको बम हानेपछि महामारी सुरु भएको र त्यो महामारी अझै चलिरहेको उल्लेख गरे । एमाले र माओवादी पार्टीबीच एकताको प्रस्तावक ओली वा अरु कोही नभएर आफैं भएको दाबी गरे ।

दुई ठूला कम्युनिष्ट पार्टीे एकीकरण गर्दा झण्डै दुई तिहाई आउने र त्यसको बलमा नेपालमा समाजवाद स्थापना गर्न सम्भव देखेपछि आफूले पार्टी एकता प्रस्ताव अघि सारेको उनको भनाइ थियो । पार्टी एकताको उद्देश्य गलत नरहे पनि ओलीले त्यसलाई सत्तामा उक्लने भ¥याङका रुपमा प्रयोग गरेको आरोप लगाए । पार्टी एकता गराउन खोज्दा आफूसँग देशभित्रर र बाहिरका प्रतिक्रियावादीहरु रिसाएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us