
सुर्खेत, ३ चैत– गएको फागुन २३ गते आईतबार आमासहित कर्णाली नदिमा हामफालेकी ५ वर्षीया बालिका रजनी बडुवालको शव आज मंगलबार भेटिएको छ ।
प्रहरीका अनुसार ९ दिन पछि रजनीको शव अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका–३ स्थित कर्णाली नदीको किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । नदी किनारमा बालिकाको शव देखेपछि स्थानीयले प्रहरीलाएई खबर गरेका थिए ।
साथै रजनीको शव पोष्टमार्टमका लागि अछामको मंगलसेनस्थित जिल्ला अस्पतालमा पठाएको छ । यसअघि आठबीस–३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल चार सन्तानसँगै कर्णाली नदीमा हाम फालेको भोलिपल्ट अर्थात फागुन २४ गते (सोमबार) सुकीका छोरीहरु १४ वर्षीया कल्पना र १२ वर्षीया सरिताको शव नदीमा फेला परेको थियो ।
त्यसको भोलीपल्ट (मंगलबार) सुकी र उनका छोरा १० वर्षीया ललितको शव पनि कर्णाली नदीमै भेटिएको थियो । उनीहरुको सामूहिक दाहसंस्कार गरिएको थियो ।