‘३० मिनेटमै पशुपति दर्शनको व्यवस्था’

काठमाण्डु टुडे २०७७ फागुन २७ गते १०:४४ मा प्रकाशित

काठमाण्डु, २७ फागुन– बिहान नौ बजेको अवधिसम्म करिब दुई लाख जनाले पशुपतिनाथको दर्शन गरिसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
लाइनमा बसेको आधा घण्टामै पशुपतिनाथ दर्शनको व्यवस्था मिलाइएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।
शिवरात्रिको दिन पशुपतिनाथ मन्दिरमा पूजा गर्नेहरुको बिहानैदेखि घुइँचो छ । पूजा गर्नका लागि श्रद्धालुहरु झिसमिसेमै लाइनमा बसेका थिए । बिहान चार बजे नै पशुपतिका चारवटै ढोका खुल्ला गरिएका थिए ।

लाइनमा बसेका सबैलाई जतिसक्दो छिटो र सहज रुपमा पूजा गर्ने व्यवस्था मिलाइएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए । यस वर्ष कोरोना महामारीको जोखिम कायमै रहेकाले आठ लाखभन्दा बढी दर्शनार्थीले मात्र पशुपति दर्शन गर्ने अनुमान गरिएको छ । विगत वर्षमा शिवरात्रिका दिन १० लाखभन्दा बढीले दर्शन गर्ने गरेका थिए ।

मित्रपार्क गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली, गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल,तिलगंगा, पिंगलास्थान, सुमार्गीभवन अगाडिबाट चार शिवालय, पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रुपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्नसक्ने व्यवस्था गरिएको छ ।

अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ताचप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिने गरी व्यवस्थापन गरिएको छ । मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीन र पश्चिमबाट चार वटा भित्री लाइनको व्यवस्था गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us