यसकारण म अब कमरेड विप्लवसँग रहन सकिन

करनसिंह बडाल २०७७ फागुन २५ गते १३:३१ मा प्रकाशित

इतिहास दुईपटक दोहोरिन्छ । पहिलो त्रासदीको रुपमा र दोस्रो प्रहसनका रुपमा । (कार्ल माक्र्स)
उपर्युक्त विश्व चर्चित भनाइ सर्बहारा बर्गका महान नेता तथा दार्शनिक कार्ल माक्र्सले द एट्टिन्थ ब्रुमेयर अफ लुईस बोनपार्ट (सन् १८५२ ) मा तत्काली फ्रान्सका युद्ध नायक नेपोलियन बोनापार्टको राजनीतिक उत्थान र पतनसँग जोडेर लेखेका थिए । माक्र्सको उक्त कोटेसनको ओझ कति रहेछ भनेर बुझ्न नेपोलियन बोनापार्टको जीवनी अध्ययन होईन, अहिले १६९ बर्षपछि नेपालको राजनीतिक घटनाक्रम र पात्रहरुका प्रवृति हेरे पुग्छ । यति बेला नेपालको राजनीति अत्यन्तै तरल बनेको छ । विचार, सिद्धान्त र निष्टाको राजनीतिको ठाउँमा खुराफात, बेइमानी र छलकपटले भरीपूर्ण राजनीतिले जबरजस्त घरजम गरेको छ । नेपालको राजनीतिमा माक्र्सले भने झै नाटकीय ढंगले प्रहसन चलिरहेको छ । विद्यमान राज्य सत्ता स्वीकार गर्ने राजनीतिक शक्तिहरुको बीचमा मात्रै प्रहसन होईन, विद्रोही पार्टीको व्यवाहार पनि कुनै प्रहसन भन्दा फरक देखिदैन ।

पहिलो त्रासदी
त्रासदी भनेको ध्वंस र निर्माणको द्धन्द्धात्मक सम्बन्ध पनि हो । त्रासदी ध्वंस मात्र होईन, निर्माणको सुन्दरता पनि हो । नेपालमा महान दश बर्षे जनयुद्ध भयो । त्यसले निरकुंश एकात्मक सामन्ती व्यवस्थाको चिहान खन्यो । जनयुद्धको बलमा दोस्रो जनआन्दोलन सफल पनि भयो । इतिहास नभएकाहरुले जनयुद्धको बलमा आफ्नो गौरवपूर्ण इतिहासको निर्माण गरे । त्यसलाई संस्थागत गर्ने भन्दै संविधान सभाको निर्वाचन भयो तर प्रतिक्रियावादी देशी विदेशी शक्तिहरु मिलेर हलो अड्काएर गोरु चुट्ने भने झै संविधानको निर्माणभन्दा पनि जनयुद्ध र जनआन्दोलनका उपलब्धि खोस्न विभिन्न हतकण्डा अपनाए । त्यसको मुख्य भूमिका खेलिरहेका थिए अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली । उनले जनयद्ध बिरुद्ध आगो ओकले, बिशेष गरी इण्डोपश्चिमा शक्ति केन्द्रसँग साँठगाँठ गरे । अन्तत सापेक्षित रुपमा प्रगतिशील मानिएको संविधान सभा नै विघटन गरियो । जनयुद्ध र जनआन्दोलनका उपलब्धि खोसियो अब विद्रोह गरिन्छ भन्दै तत्कालीन एकीकृत माओवादीबाट वैद्यको नेतृत्वमा पार्टी विभाजन भयो । विभाजनको योजनाकार थिए विप्लव । पछि बैद्य नेतृत्वको माओवादीले पनि क्रान्ति नगर्ने भन्दै आफ्नै नेतृत्वमा पार्टी विभाजन गराए । माक्र्सवादले ढुलमुले भनेको सापेक्षित रुपमा कायर मानिने मध्यम बर्गसहितको एकीकृत जनक्रान्ति नामको (सारसंग्रहवादी) कार्यदिशाको खाँका बनाए ।
दोस्रो प्रहसन
क्रान्तिकारीहरुमा झिनो आशा पलायो तर यो सारसंग्रहवादी कार्यदिशा सफल हुने कुरै थिएन र भएन पनि । त्यसैगरी सशस्त्र (फौजी) र शान्तिपूर्ण (शहरी जनविद्रोह) को ठिमाहा कार्यदिशा एकीकृत जनक्रान्तिका फौजी र राजनीतिक संघर्षहरु लगातार । दर्शन र सांगठानिक क्षेत्रमा गम्भीर त्रुटी रहेको एकीकृत जनक्रान्तिको कार्यदिशाको खाँका बनाउने नअसफल साबित हुन थाले । फलस्वरुप पार्टीले राजनीतिक र सांगठानिक क्षेत्रमा निक्कै ठूलो क्षती व्यहोर्यो । नत पूरानो संगठनको रक्षा (टिकाउन) गर्नसक्यो, नत नयाँ कार्यकर्ताको उत्पादन (भर्ती) नै गर्न सक्यो । गोलमटोल रानीतिक तथा फौजी कार्यदिशाले क्षती बाहेक केही उपलब्धि प्राप्त गर्न सकेन । विप्लव अन्तत आफैले ध्वंस पार्ने भनेको राज्यसत्तासँग घुँडा टेकेर तीन बुँदे सम्झौता गर्न पुगे । जसलाई प्रहसनका रुपमा बुझ्न सकिन्छ । यो प्रहसनको क्षणमा ओलीजस्ता कम्युनिस्टको नामको बर्को ओडेर पश्चगामी तथा दक्षिणपन्थी जत्थाले उत्सव मनाईरहेको भए पनि त्यसले उनीहरुलाई पनि गिज्याईरहेको छ । साम्यवादको स्थापना गर्न आन्दोलनमा होमिएका ओली आज आफै प्रतिक्रियावादी राज्यसत्ताको संरक्षण गर्ने सफल सिपाही बन्न पगेका छन् ।

कसरी ७ बर्षमै असफल भयो एकीकृत क्रान्ति
दर्शनमा गम्भीर त्रुटि
विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको पहिलो त्रुटी माक्र्सवाद, लेनिनवाद र माओवादको विकास गर्ने नाममा गरिएको निषेधात्मक द्धन्द्धवादको हो । विपरितहरुको एकत्व र संघर्षको नियमलाई थबाङ महाधिबेशनले पूर्ण रुपमा अस्वीकार गर्यो वा निषेध गर्यो । दुई विपरितहरुको एकत्व नितान्त यन्त्र वा निर्जिव बस्तमा मात्र हुने गर्दछ । मानिस वा संगठन भनेको सजिव हो । विपरितहरुको एकत्व त्यसकारण संगठनमा लागु हुदैन भनियो । दुई विपरितहरुको एकत्व समाज विज्ञानको नियम हो र यसलाई सही ढंगले संचालन गर्नु पर्छ भन्ने माओको श्लेषणलाई नजर अन्दाज गरियो । हेगेलले पत्ता लगाएको द्धन्द्धवाद र लेनिनले सविस्ता गरेको द्वन्द्ववादको सारका रुपमा विपरितहरुको एकता र संघर्षको नियम (एकता सापेक्ष, सर्तबद्ध र अस्थायी हुन्छ भने संघर्ष निरपेक्ष, निसर्त र स्थायी हुन्छ) भन्ने निचोडलाई निषेध गर्दा त्यसले संगठनमा निरन्तर क्षयीकरण आयो । लेनिनवादी पद्धतीको ठाउँमा निषेधात्मक द्धन्द्धवादी संगठानात्मक विधि अपनाईयो । कतिसम्म भने पार्टीमा आएको क्षयीकरण बचाउन ओली जस्ता दक्षिणपन्थीहरुको अगाडी घुँडा टेक्नु पर्ने बाध्यात्मक अवस्थाको सिर्जना भयो ।
कार्यदिशामा त्रुटि
२०७३ सालमा थबाङमा भएको महाधिवेशनले पार्टीको कार्यदिशा एकीकृत जनक्रान्ति पारित गर्यो । कार्यदिशा निर्माणमा सार्वभौम पक्ष र सम्बन्धित देशका विशिष्टताहरू दुवैको एकत्व आवश्यक हुन्छ भन्ने करा सही हो तर विकसित उत्पादक शक्तिको सही ढंगले अध्ययन, समाजको बर्ग बिश्लेषण र त्यसका आधारमा स्पष्ट फौजीे कार्यदिशाको अभाव भएपछि, गोलमटोल कार्यदिशाका कारण संगठनमा प्रतिबन्धपछि तीब्र क्षयीकरण आएको सहजै देख्न सकिन्छ । क्रान्तिका सार्वभौम मोडेल मानिने शहरी जनविद्रोह र दीर्घकालीन जनयुद्धको फ्युजनको नयाँ चामत्कारिक अबिष्कार एकीकृत जनक्रान्ति भनियो । दुबै सार्वभौम मोडलको बबर्णशंकर (ठिमाहा) का रुपमा एकीकृत जनक्रान्ति हो भनेर क्षणिक रुपमा पार्टी कार्यकर्तालाई भुलभुलैयामा पार्न सफल भएपनि दीर्घकालीन रुपमा टिकाई राख्न संभव थिएन । कार्यकर्ताले एकीकृत जनक्रान्ति सारसंग्रहवाद हो भन्ने निष्कर्शमा पुग्न करिब ७ बर्ष लाग्यो अन्तत एकीकृत जनक्रान्ति असफल साबित हुने अन्तिम चरणमा पुगेको छ ।
चीनको क्रान्तिकालमा विश्वमा नगर समाजको उदय सीमित थियो भने रुस साम्राज्यवादी देशमा भर्खरै अक्टोबर क्रान्ति भएको थियो । तत्कालीन समाजमा मध्यम वर्ग शक्तिशाली थिएन । त्यो वर्ग ढुलमूले शासक वर्गकै अङ्ग मानिन्थ्यो भनियो । आज साइबर सेना निर्णायक बन्न खोज्दैछ । सूचना प्रविधि हस्तक्षेपकारी बन्दै गएकोलगायतका ७ वटा बिशिष्ट बिषेशताको व्याख्या गरियो । त्यस्तै भू–परिवेष्ठित, भारतीय अर्थतन्त्रमा परनिर्भर, अर्थतन्त्रका कारण राजनीति र संस्कृतिमा भारतीय नियन्त्रण, दर्जनौँ असमान र अन्यायपूर्ण सन्धि, सम्झौताका कारण नेपालमा देशभक्त धारा प्रबल रहेको एकीकृत जनक्रान्तिका सार थियो । तर क्रान्तिका लागि एकीकृत क्रान्तिले भने झै मध्यमबर्ग तयार भएन । बरु क्रान्तिका बिरुद्ध नै उभियो । सेना, प्रहरी, डाक्टर, इन्जिनियर र लेक्चरज र मध्यमबर्गका व्यापारीहरुले क्रान्तिका बिरुद्ध बिष ओकले । माक्सले मध्यमबर्ग कायर हुन्छ भनेको करा नेपालमा पनि सत्य सावित भयो ।
नयाँ जनवाद सम्बन्धमा
पुँजीवादको गर्भमा उसको चिहान खन्ने सर्वहारा वर्गको भ्रुण हुर्किरहेको हुन्छ भन्ने माक्र्स एंगेल्सको निष्कर्श भन्दा बिशिष्ट बस्तुगत अवस्थाको नितान्त फरक सश्लेषण, पुँजीवादको विकास नभएका चीन, भियतनाम, कोरिया, नेपाल, भारतजस्ता देशहरूमा सर्वहारा वर्गको नेतृत्व र मजदुर किसानको सहभागितामा हुने हुनाले त्यसले सामाजवादको ढोका खोल्छ । त्यसप्रकारको व्यवस्थालाई ‘नयाँ जनवाद’ भन्ने माओको श्लेषणलाई नाघेर सिधै समाजवादी क्रान्तिमा जानु पर्छ भन्ने अवैज्ञानिक तर्क थबाङले पारित गर्यो । महाधिबेशनमा सहभागी प्रतिनिधिहरुले ताली बजाए । त्रुटीले निम्त्याउन सक्ने संभावित जोखिमका बिषयमा प्रतिनिधिहरुले आँकलन नै गर्न सकेनन् ।

नयाँ जनवादी व्यवस्था समाजवाट समाजवादी व्यवस्थामा फड्को मार्ने सङ्क्रमणकालीन व्यवस्था हो । त्यसप्रकारको सङ्क्रमणकाल कति लामो हुन्छ भन्ने बिषयमा थबाङ महाधिबेशनले ल्यु साओचीको उदाहरण दिँदै नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने नभनेर नयाँ जनवाद हुदै वैज्ञानिक समाजवादमा प्रवेश गर्ने भनियो । त्यसले नयाँ जनवादी क्रान्ति प भन्दा पनि सिधै बैज्ञानिक समाजवादमा सिधै फड्को हान्ने कल्पना गर्यो । जसले राजनीतिक रुपमा एकीकृत जनक्रान्तिलाई कुहिरो अलमलिएको कागको हालतमा पुर्याउन सघायो । माओवादलाई मार्गनिर्देशक सद्धान्त मान्ने नेकपाले आठौँ महाधिबेशनबाट माओवाद कै बर्खिलाप हुने गरी डकुमेन्ट पास गर्यो । कयौँ कमजोरीका बाबजुद सो महाधिबेशनले उत्तर साम्राज्यवादजस्ता केही नयाँ बहसहरुको भने अवश्य उठान गरेको थियो ।
निस्कर्ष
एकीकृत जनक्रान्ति भनेको मध्यम दुरीको क्रान्ति भनियो तर मध्यम दूरीमै त्यसको ठीक उल्टो संसदीय राजनीतिमा नाटकीय ढंगले अवतरण भयो । राज्यसत्ताविरुद्ध घनिभूत तयारी तीव्र हमला भनियो तर परिणाम ठीक उल्टो संगठन र संघर्षमा फितलो तयारी, तीव्र क्षयीकरण देखियो । राजनीतिक उपलब्धि होइन, असफलता र क्षति मात्रै हात पर्यो । ध्वंस गर्ने भनिएको राज्यसत्तासँग अन्तत: आत्मसमर्पण गरेर संसदीय राजनीतिमा अवतरण गर्नुपर्ने अवस्थामा नेतृत्व नै आइपुग्यो । संगठनमा लेनिनवादी पद्धति अबलम्बन गर्ने भनियो, तर व्यवाहारत निषेधात्मक द्धन्द्धवादको अभ्यास गरियो ।

एकीकृत जनक्रान्तिको फौजी कार्यदिशा भनियो, तर पार्टीको फौजी संघर्ष छापामार सैलीमा अगाडि बढाइयो । यी तमाम दार्शनिक, राजनीतिक, संगठानात्मक तथा फौजी कार्यदिशामा भएको त्रुटिले एकीकृत जनक्रान्ति असफल सिद्ध भएको छ । तसर्थ माओले भने झै, यदि तपाईसँग सही विचार र कार्यदिशा छ भने नभएका चीज प्राप्त हुन्छन् । यदि विचार गलत भयो भने भएका चीजहरु पनि गुम्नेछन् भन्ने कुराको नेपालमा पनि पुष्टि हुन पुगेको छ । राजनीतिक कार्यदिशा समाज अथवा देशको विद्यमान अर्थ राजनीतिक (सामाजिक सम्बन्धहरु) को अन्तरविरोध हल गर्ने खालको हुनुपर्दछ । एंगेल्सले भनेझै‌ जुन राजनीति जनताको दैनिकीसँग जोडिने अर्थात् आर्थिक जीवन अर्थात् उत्पादनसँग जोडिने हुनुपर्दछ । त्यो नै वास्तविक राजनीति हो । अब देशमा नयाँ खालको क्रान्तिको खाँचो परेको छ । विगतमा भएका कमी कमजोरीलाई सच्याएर सबैले अघि बढ्नु जरुरी छ । विगतका आफ्ना कमजोरीको निर्मम समीक्षा गरेर सबै क्रान्तिकारीहरु अघि बढ्पर्ने बेला आईसकेको छ ।

(बडाल विप्लव समूहका युवा नेता हुन्)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us