
काठमाण्डु, २४ फागुन– निर्वाचन आयोगले तत्कालीन एमाले र माओवादी केन्द्रका नेतालाई बोलाएर छलफल गर्ने तयारी गरेको छ ।
सर्वोच्च अदालतले ऋषिराम कट्टेलले दायर गरेको रिटमाथि सुनुवाई गर्दै २०७५ साल जेठ ३ गतेअघि अस्तित्वमा रहेका नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि आयोगले ती दललाई छलफलमा बोलाउन लागेको हो ।
आयोग श्रोतका अनुसार सोमबार सार्वजनिक बिदा परेका कारण मंगलबार दुवै दलका नेतालाई छलफलमा बोलाउने तयारी भएको छ । ऋषिराम कट्टले नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आधिकारिकता दिएसँगै सर्वोच्चले केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपा कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरिदिएको थियो ।
अदालतले यदि पार्टी एकता गर्ने भए विद्यमान कानूनी व्यवस्थासँग नबाझिने गरी तत्काल निर्वाचन आयोगमा सम्पर्क गर्न भनेको थियो । सोही अनुसार आयोगले दुवै दलका नेतासँग छलफल गर्न खोजेको हो ।
अदालतले फैसला आइतबारै निर्वाचन आयोगमा दर्ता भइसकेको छ । यस्तै आयोगले हाल नेकपा एमालेको वैधानिक नेतृवमा रहेकी सन्ध्या तिवारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीलाई पनि छलफलमा बोलाउने भएको छ ।
पूरानै एमाले र माओवादी केन्द ब्युँतिएकाले तिरावी र किराँतीलाई अर्कै दल दर्ताका लागि प्रक्रिया पुरा गरेर आउन आग्रह गर्ने तयारी भएको एक आयुक्तले जानकारी दिए ।