
काठमाण्डु, २० फागुन– सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई पक्राउ नगर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
गृह मन्त्रालयले प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई विप्लवका कार्यकर्ता पक्राउ नगर्न निर्देशन दिएको हो । यसअघि प्रहरीले जहाँ भेट्यो त्यहीं विप्लव कार्यकर्ता पक्राउ गर्ने गरेको थियो । सरकार र विप्लव समूहबीच वार्ताका क्रममा तीन बुँदे सहमतिमा हस्ताक्षर भएसँगै सरकारले उक्त समूहका नेता कार्यकर्ता पक्राउ नगर्ने नीति लिएको हो ।
सरकारले २०७५ साल फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध घोषणा गरेको थियो । त्यसयता दुई हजारभन्दा बढी विप्लवका नेता कार्यकर्ता पक्राउ परेका छन् । १ सय २६ जना विभिन्न मुद्दामा अहिले पनि कारागारमै छन् ।