अफताब आलमलाई जेलबाट छुटाउँछुः देउवा

काठमाण्डु टुडे २०७७ फागुन १९ गते १७:३३ मा प्रकाशित

रौतहट, १९ फागुन– काँग्रेस सभापति शेरबहादुर देउवाले जिउँदै इटाभट्टीमा मजदुरहरुलाई जलाउने मोहम्मद आफताब आलमलाई रिहा गर्ने उदघोष गरेका छन् ।

रौतहटको गढीमाई नगरपालिकाद्वारा आयोजित महायज्ञको बुधबार उदघाटन गर्न आएका सभापति देउवाले आलमलाई छाड्ने बताए । आलमविरुद्धको मुद्दा हाल अदालतमा विचाराधीन छ । रौतहट–२ बाट निर्वाचित सांसद् आलम हाल पुर्पक्षका लागि थुनामा छन् । काँग्रेस कार्यकर्तालाई सम्बोधन गर्दै देउवाले आलमलाई अदालतबाटै निर्दोष साबित गरेर छुटाउने प्रतिबद्धता जनाए ।

पहिलो संविधानसभा निर्वाचनको एक दिन अगाडि २०६४ साल चैत २७ गते राजपुरमा भएको बम विस्फोटमा .आलमको संलग्नता पुष्टि भइसकेको छ । विपक्षीलाई लक्षित गरी विस्फोट गराउन शृख इद्रिसको घरमा बनाउँदै गरेको बम पड्किएर सरुअठाका २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अख्तरको मृत्यु भएको थियो । यस्तै विस्फोटमा घाइते भएका आधा दर्जन बढीलाई इँटाभट्टामा जिउँदै जलाइएको थियो ।

मुद्दामा सर्वोच्च अदालतले २०६९ जेठ १६ गते मुद्दाको गम्भीरतापूर्वक अनुसन्धान गरी प्रचलित कानून बमोजिम कारबाही गर्ने आदेश दिएको थियो । सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले आदेश कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय रौतहटलाई २०७५ चैत ८ गते ताकेता पत्र पठाएको थियो ।

रौतहट प्रहरीले अदालतको आदेश कार्यान्यवनका क्रममा आलमलाई गत २६ असोजमा पक्राउ गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us