
काठमाण्डु, १९ फागुन–सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच औचपारिक वार्ता सुरु भएको छ ।
वार्ताको स्थान भने दुवै पक्षले गोप्य राखेका छन् । सरकारका तर्फबाट मंगलबार गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्रमन्त्री डा. राजन भट्टराई तथा विप्लव समूहका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा र केन्द्रीय सदस्य दीपक चलाउने संलग्न वार्ता टोली घोषणा गरेको थियो ।
श्रोतका अनुसार वार्ता टोली घोषणा लगत्तै विप्लवतर्फका टोली प्रमुख विश्वकर्मा र सदस्य चलाउने मंगलबार राति नै काठमाण्डु आइसकेका छन् ।
सरकारले दुई वर्षअघि विप्लव समूहलाई प्रतिबन्ध लगाएयता सरकार–विप्लवबीच यो पहिलो औपचारिक वार्ता हो । वार्ताका लागि विप्लव समूहले सरकारद्वारा पक्राउ गरिएका आफ्ना नेता कार्यकर्ताको मुद्दा फिर्ता र रिहाइको सर्त अघि सारेको छ ।
हाल विप्लवका १ सय २६ कार्यकर्ता विभिन्न मुद्दामा जेलमा छन् । यस्तै विप्लवले वर्तमान संसदीय व्यवस्था र संकट समाधानका लागि सबै राजनीतिक शक्तिहरु सम्मिलित सभा र वैकल्पिक संयुक्त सरकार गठनको सर्त राखेका छन् ।