
काठमाण्डु, १२ फागुन– नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ पम्फा भुसालले राजीनामा नदिए प्रधानमन्त्री केपी ओलीलाई गलहत्याएर बालुवाटारबाट निकाल्ने चेतावनी दिएकी छन् ।
प्रतिनिधिसभा पुर्नस्थापना भएको अवसरमा आफ्नो समूहले बुधबार राजधानीमा आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै भुसालले प्रधानमन्त्रीले १३ दिनभित्र राजीनामा नदिए गलहत्याउने बताएकी हुन् । अोलीले नैतिकता भए प्रतिनिधिसभा पुर्नस्थापना हुनेबित्तिकै मंगलबारै राजीनामा दिनुपर्ने भुसालको भनाइ थियो । ‘मैले त हिजै राजीनामा आउला भनेको सोचेको थिएँ’, भुसालले भनिन्, ‘अलिकति पनि नैतिकता भए सत्तामा बस्न मिल्दैन, राजीनामा दिएर ठाउँ खाली गर्नुपर्छ ।’
भुसालले प्रधानमन्त्रीको असंवैधानिक र प्रतिगामी कदममा सहयोगीको भूमिका खेल्ने राष्ट्रपति विद्यादेवी भण्डारीले पनि राजीनामा दिनुपर्ने बताइन् । भुसालले राष्ट्रपति विद्यादेवी भण्डारी क्षमा पूजाका लागि पशुपति गएको सुनेको भन्दै प्रतिगामी काम गरेकामा पशुपतिमा नभई जनताका बीचमा क्षमा याचना गर्न राष्ट्रपतिलाई सुझाइन् ।