ओलीले थप नयाँ षड्यन्त्र गरिरहेको खबर आएको छः प्रचण्ड

काठमाण्डु टुडे २०७७ फागुन ७ गते १९:१४ मा प्रकाशित

काठमाण्डु, ७ फागुन– नेकपाको प्रचण्ड–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई काठमाण्डु नछाड्न निर्देशन दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शुक्रबार बसेको केन्द्रीय समितिको आकस्मिक अनौपचारिक बैठकमा शीर्ष नेताहरुले परिस्थिति असाध्यै तरल रहेको र जुनसुकै बेला जस्तोसुकै मोड लिन सक्ने भएकाले तयारी अवस्थामा रहन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन् । एक केन्द्रीय सदस्यका अनुसार अधयक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक अवस्था तरल रहेकाले जतिसुकै बेला केन्द्रीय समिति र स्थायी समिति बैठक बसेर निर्णय लिनुपर्ने अवस्था आउन सक्ने बताएका थिए ।

‘केपी ओलीको कोटरीमा नयाँनयाँ षड्यन्त्रका योजना बनिरहेको खबर आइरहेका छन्’, प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भने, ‘जतिसुकैबेला जस्तोसुकै निर्णय गर्नुपर्ने हुनसक्छ, तपाईंहरु तयारी अवस्थामा रहनुहोला ।’  बैठकमा प्रचण्डले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा जारी बहसबारे धारणा राखेका थिए । त्यस क्रममा उनले अदालतले संविधान र विगतका नजिरमा टेकेर उपयुक्त फैसला दिनेमा विश्वस्त रहेको भन्दै न्यायालयप्रति शकांको दृष्टिले हेर्न नहुने बताएका थिए ।

उनले आफूहरुसँग दुई प्रकारको चुनौती खडा भएको र त्यसविरुद्ध लड्नुपर्ने बताए । पहिलो चुनौती असंवैधानिक संसद विघटनमार्फत गरिएको प्रतिगमन सच्याउनु र दोश्रो चुनौती केपी ओलीको महलाका कारण कमजोर भएको कम्युनिष्ट आन्दोलनलाई जोगाउनु रहेको उनको भनाइ थियो । ‘केपी ओलीको असंवैधानिक कदमबाट जन्मिएको प्रतिगमनसँग जुध्ने र कम्युनिष्ट आन्दोलनमाथि भएको प्रहारबाट पार्टीलाई बचाउने हाम्रा चुनौती हुन्’, प्रचण्डले भने, ‘त्यसविरुद्ध अन्तिमसम्म लडिन्छ, लड्नुपर्छ ।’

बैठकमा अर्का अध्यक्ष माधवकुमार नेपालले आफूहरुको एकता कमजोर पार्न सकिन्छ कि भन्ने आशयका साथ केपी ओलीले विभिन्न भ्रम फैलाएको भन्दै भ्रमबाट मुक्त रहन केन्द्रीय सदस्यहरुलाई आग्रह गरे । उनले ओलीले प्रचण्ड र माधव नेपालका बीचमा विवाद रहेको भ्रम फैलाएको टिप्पणी गरे ।

‘केपी ओलीले प्रचण्ड र माधव नेपालको सहकार्य लामो जाँदैन भनेर भ्रम छरिरहेका छन् । हाम्रो एकता विचार र कायैशैली मिलेर भएको हो । यो जीवन्त र लामो समय रहन्छ’, नेपालले भने । बैठकमा केन्द्रीय संघर्ष समितिका संयोजक एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटनविरुद्ध जारी आन्दोलनबारे जानकारी गराएका थिए ।

उनले ओली समूहबाहेक सबै राजनीतिक दल, नागरिक अगुवा, बुद्धिजिवी, लेखक, सञ्चारजगत, पेशाकर्मी, उद्योगी, व्यवसायी समेत संसद विघटन प्रतिगमन हो भन्ने निस्कर्षमा पुगेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us