भागरथीका हत्याराको बयानः भीरबाट लडाएर घाइेत बनाएँ, अनि बलात्कार गरें

काठमाण्डु टुडे २०७७ फागुन ५ गते ८:१० मा प्रकाशित

काठमाण्डु, ५ फागुन–बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्या आरोपमा प्रहरीले उनकै सहपाठीलाई पक्राउ गरेको छ ।

भारततर्फ भाग्दै गर्दा कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेका किशोरलाई सुदूरपश्चिम प्रहरीले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दैछ । पक्राउ पर्नेमा स्थानीय दिनेश भट्ट छन् । उनी भागरथी अध्ययनरत सनातन माविको कक्षा ११ का विद्यार्थी हुन् । गत २१ माघमा विद्यालयबाट फर्कंदा बेपत्ता भएकी भागरथीको भोलिपल्ट बलात्कारपछि हत्या भएको अवस्थामा लवलेक सामुदायिक वनमा शव फेला परेको थियो । पक्राउ परेका भट्टले अभियोग स्वीकार गरिसकेको प्रहरी श्रोतले जनाएको छ ।

दिनेश र मृतक भागरथीको परिवारबीच बाबुको पालादेखि विवाद थियो । सोही कारण बदला लिन हत्या गरेको बयान उनले दिएका छन् । भागरथीलाई पहिला भीरबाट लडाएर घाइते बनाएको र त्यसपछि बलात्कार गरेको भनाइ उनको छ । स्वास्थ्य परीक्षण रिपोर्टले भागरथीको बलात्कार भएको पुष्टि भइसकेको छ । प्रहरीले उनलाई केही समयदेखि निगरानीमा राखेको थियो । तर, उनी स्वयं भागरथीका हत्यारामाथि कारबाहीको माग गर्दै विद्यार्थीहरुले गरेको प्रदर्शनमा समेत सामेल भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us