
काठमाण्डु, ३० माघ– नेकपा ओली समूहका केन्द्रीय सदस्य एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्नाले स्थानीय तहमा अधिकार पाउने नेपाल संसारकै अग्रणी मुलुक भएको दाबी गरेका छन् ।
मन्त्रालयको आयोजनामा चितवन सौराहामा स्थानीय निकायका कार्यकारी अधिकृतहरुको कार्याशालको शुक्रबार उदघाटन गर्दै मन्त्री ठगुन्नाले नेपालको स्थानीय तहलाई दिएको संवैधानिक अधिकार विश्वमै उत्कृष्ट रहेको बताए । संघीयता भएका धेरै मुलुकमा स्थानीय तहलाई प्रदेश मातहत राखिएकामा नेपालमा स्वतन्त्र राखिएको उल्लेख गरे ।
त्यसलाई स्थानीय तहले अवसरका रुपमा लिनुपर्ने उनको भनाइ थियो । मन्त्री ठगुन्नाले स्थानीय तहमा सुशासनको अवस्था कमजोर तथा अधिकार दुरुपयोग भएको भन्दै असन्तुष्टि जनाए ।
संघीयताका कारण जनताको घरदैलोमा अधिकार पुगेको मन्त्री ठगुन्नाले चर्चा गरे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले स्थानीय सरकारमा सुशासनको अवस्था कमजोर रहेको बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरीमध्ये ३३ प्रतिशत स्थानीय तहमा भएको अनियमितताबारे रहने गरेको उनको भनाइ छ ।