कटौती भएका चाडपर्वमा पुन: बिदा दिन्छौं : गृहमन्त्री

रासस २०७७ माघ ३० गते २२:३१ मा प्रकाशित

काठमाण्डु, ३० माघ– गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन सुरु गर्ने बताएका छन् ।

सोनाम ल्होसार २८५७ को अवसरमा शुक्रबार काठमाडौँको बूढानीलकण्ठमा आयोजित समारोहमा उनले माघी, ल्होसारलगायतका चाडपर्वका बिदा कटौती भएकामा अहिले त्यो निर्णय सच्याएको भन्दै अब मन्त्रिपरिषदबाटै निर्णय गराएर ती बिदा पात्रोमै सार्वजनिक बिदाका रुपमा रहने गरी निर्णय गरिने प्रतिबद्धता व्यक्त गरे ।

सो क्रममा आदिवासी जनजातिले मन्त्री थापालाई बिदा सुनिश्चित गर्न भन्दै ज्ञापनपत्र बुझाएका थिए । विगतमा जाति धर्मका समुदायले जुन स्थान पाउनुपर्ने थियो त्यो पाउन नसकेको बताउँदै परम्परा, भाषा र धर्म संरक्षणका निम्ति अधिकार प्राप्त गर्न नसकेकोमा दुःख व्यक्त गरे । नेपाललाई धर्मनिरपेक्ष राज्य निर्माण गर्न सफल भएकोमा उनले खुशी व्यक्त  गरे ।

उनले संस्कृति र परम्पराको संरक्षणका निम्ति र आदिवासी जनजातिले पाउने अधिकार स्थापित गर्न अझै प्रयास जरुरी रहेको बताए । यसका साथै जातीय समुदायको आर्थिक अवस्था सुधार गर्नसमेत जरुरी रहेको औँल्याउँदै उनले राज्यले सबै भाषाभाषी, जातजातिको समृद्धिका निम्ति समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य लिएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us