भारतमा नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या

काठमाण्डु टुडे २०७७ माघ २६ गते ११:३७ मा प्रकाशित

काठमाण्डु, २६ माघ–भारतमा एक नेपाली बालिकाको बलात्कारपछि विभत्स हत्या भएको छ ।

हत्यापछि बालिकाको शव प्रहरीकै संलग्नतामा पोष्टमार्टम बिनै जलाइएको रहस्योदघाटन भएको छ । भारत बिहारको पूर्वी चम्पारण जिल्लामा १२ वर्षीया नेपाली बालिकाको गत २१ जनवरीका दिन सामूहिक बलात्कारपछि हत्या भएको हो । बीबीसी हिन्दीका अनुसार ती बालिकाको नेपालस्थित ठेगाना बारबर्दियाको बर्दिया नगरपालिका–३ हो । उनका बाबुआमा दुवै पछिल्लो सात वर्षदेखि मोतिहारीको कुन्डवा चैनपुरमा मजदुरी गर्दै आएका थिए । आमा नेपाल आएको र बाबु र दाजु काममा गएका बेला घटना भएको थियो ।

दाजु डेरामा फर्किंदा बहिनी अर्धमृत अवस्थामा देखेपछि बाबुलाई खबर गरेका थिए । बाबुछोरा मिलेर बालिकाको उपचारका लागि विभिन्न अस्पताल लगे पनि चिकित्सकले उपचार गर्न नमानेको पीडितको भनाइ छ । उपचारका अभावमा आफ्नी छोरीको ज्यान गएको पीडित बाबुले बताएका छन् । प्रहरीमा दिएको उजुरीमा पीडितले स्थानीय देवेन्द्रकुमार साहले बालिकाको शव तत्काल जलाउन दबाब दिएका थिए । अन्यथा बाबुछोरालाई समेत मारेर नेपाल लगेर लास फाििलदिने धम्की दिएको बीबीसीले जनाएको छ ।

राति १२ बजे छोरीको लासमा नुन र चिनी छर्किएर जलाइएको पीडितले बताएका छन् । त्यसपछि खाली कागजमा सहीछाप गराएर आफूहरुलाई नेपाल पठाइएको उनको भनाइ छ । यसैबीच स्थानीय प्रहरी चौकीका एक अधिकारीले रकम लिएर पीडकलाई उम्काउन जबर्जस्ती लास जलाएको खुलासा भएको छ । त्यसबारेको अडियो भारतका सामाजिक सञ्जालमा भाइरल भएको छ । सञ्जीवकुमार रञ्जन नाम गरेका प्रहरीका थानेदारले अडियोमा बालिकाको चिसोका कारण ज्यान गएको मुचुल्का बनाएर लास जलाइदिन आदेश गरेका छन् ।

पूर्वी चम्पारणका एसपी नवीनचन्द्र झाले
लापरबाही र कर्तव्यहिनता देखिएका कारण सञ्जीवकुमारलाई निलम्बन गरिएको बताएका छन् । पीडित परिवारले घटनाको १२ दिनपछि त्यसमा संलग्न ११ जनाविरुद्ध उजुरी दिएको थियो । त्यसमध्ये पाँच जनालाई सामूहिक बलात्कार र बाँकीलाई गैरकानूनी रुपमा शव जलाउन सहयोग गरेको आरोप छ । त्यसमध्ये दुई जना पक्राउ परिसकेको एसपी झाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us